
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने बताए ।

‘अहिलेको सरकारमा इन्टिग्रिटी (निष्ठा) र इन्टेन्सन (नियत) मा शङ्का छैन, तर कता कता ढङ्ग नपुगेको हो कि जस्तो लाग्छ,’ झाले भने, ‘यदि तपाईंलाई के थाहा छैन भन्ने नै थाहा छैन भने तपाईंलाई साँच्चै केही पनि थाहा छैन।’
उनले गुगलका सीईओ सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै आफूलाई सबै थाहा छ भन्ने सोचले विकास रोक्ने र सिक्ने प्रक्रियामा जोड दिनुपर्ने बताए । सांसद झाले शिक्षित समाजबाट मात्रै राजनीति, लोकतन्त्र, सामाजिक सन्तुलन र न्याय सम्भव हुने बताए ।
मधेसको समस्याप्रति सरकार सचेत हुनुपर्ने भन्दै झाले त्यहाँको असन्तुष्टि अझै कायमै रहेको बताए । सीमा क्षेत्रमा सुरक्षाकर्मीले गरिब नागरिकलाई २५ रुपैयाँको चिप्समा चेकजाँच गर्ने तर एयरपोर्टमा धनीहरूले ब्लु लेबल र ल्यापटप सहजै ल्याउन पाउने विभेदकारी सोचको उनले विरोध गरे । ‘बोर्डरमा आउने गरिब र एयरपोर्टमा आउने धनीलाई किन फरक व्यवहार रु’ उनले प्रश्न गरे ।
नेपालको अर्थतन्त्र सुधारका लागि मधेस, प्रवास र निजी क्षेत्रलाई साझेदार बनाउनुपर्ने उनको प्रस्ताव छ। भारतको उदाहरण दिँदै झाले प्रवासी नेपालीहरूको ठुलो लगानी भित्र्याउन नागरिकता, भिसा र लगानीका प्रावधानमा लचिलो हुनुपर्ने बताए ।
निजी क्षेत्र अहिले त्रसित रहेको भन्दै उनले भने, ‘प्रहरी देखेपछि सुरक्षित महसुस गर्नुपर्नेमा निजी क्षेत्रका व्यवसायीहरू कुन बेला घरमा छापा मार्ला र धरपकड गर्ला भनेर डराइरहेका छन्।’

