
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ सेल्फी रोड नजिक सामुदायिक एक महिलाको शव फेला परेको छ ।

वनमा सेतो बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।
वनमा शुक्रबार दिउँसो करिब २ बजे स्थानीय च्याउ टिप्न जाँदा खाल्टोमा फालिएको सेतो बोराभित्र शव देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग तथा सोको टोलीसहितको अनुसन्धान टोली परिचालन भएको छ । प्रहरीले बोरा खोलेर हेर्दा हालसम्म पहिचान नखुलेकी करिब ३०–३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको जनाएको छ ।
घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

