
बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् ।

सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए ।
विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए ।
प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोयटर्सले जनाएको छ । उनी बिहान ८:३० बजे पहिलो कक्षामा सहभागी भएका थिए भने ९स्२० बजे दोस्रो कक्षा सुरु भएको थियो ।
दोस्रो कक्षा सुरु भएको करिब आधा घण्टापछि उनले बन्दुक निकालेर गोली चलाउन थालेका थिए । प्रहरीका अनुसार उनले विद्यालयको छैटौँ तलामा रहेका शिक्षकहरूमाथि गोली चलाएका थिए, जहाँ तीन शिक्षकको मृत्यु भयो । त्यसपछि उनी भर्याङबाट तल झर्दै गर्दा भेटिएका अरु दुई जनालाई पनि गोली हानेर हत्या गरेको प्रहरी अधिकारीले बताएका छन् ।
गोली चलेपछि प्रहरी घटनास्थलमा परिचालन भएको थियो । बिहान करिब १०स्४० बजे प्रहरीले किशोरलाई आफैंलाई गोली हानेको अवस्थामा फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार ती किशोरले आक्रमणमा प्रयोग गरेको बन्दुक र गोली उनकै हजुरबुबाको थियो । स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त बन्दुक कानुनी रूपमा दर्ता भएको र त्यसका लागि अनुमति पनि लिइएको थियो ।
हतियार नियन्त्रणसम्बन्धी नयाँ कानुन ल्याउने प्रधानमन्त्रीको घोषणा
यो घटनापछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले हतियार नियन्त्रणसम्बन्धी नयाँ कानुन ल्याउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री अनुतिनले सार्वजनिक स्थानमा बन्दुक बोकेर हिँड्न प्रतिबन्ध लगाउने गरी नयाँ कानुन ल्याउने बताएको बीबीसीले जनाएको छ । प्रस्तावित व्यवस्थाअनुसार ड्युटीमा रहेका सरकारी अधिकारीले मात्र सार्वजनिक स्थानमा हतियार बोक्न पाउनेछन् ।
गृहमन्त्री रहेका बेला अनुतिनले नयाँ बन्दुक अनुमतिपत्र जारी गर्न अस्थायी रोक लगाउने तथा बन्दुक आयातमा प्रतिबन्धलगायतका नियन्त्रणात्मक उपाय अघि सारेका थिए ।
थाइल्यान्डमा बन्दुकसम्बन्धी कानुन कडा भए पनि त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहँदै आएको छ । अवैध रूपमा हतियार राखेको अभियोगमा १० वर्षसम्म कैद सजायको व्यवस्था छ ।
थाइल्यान्डमा नागरिकको स्वामित्वमा करिब १ करोड ३ लाख बन्दुक रहेको अनुमान छ । तीमध्ये करिब ४० लाख बन्दुक अवैध रूपमा नागरिकको स्वामित्वमा रहेको बताइन्छ ।
आक्रमण ‘पूर्वतयारीसहित’ भएको प्रहरीको निष्कर्ष
थाइल्यान्डका राष्ट्रिय प्रहरी प्रमुख जनरल कित्तरात फानफेतले घटनास्थलमा गरिएको फरेन्सिक परीक्षणबाट किशोरले चलाएका गोली निकै सटीक रहेको र केही गोली शरीरका संवेदनशील अंगमा लागेको बताएका छन् ।
प्रधानमन्त्री अनुतिनले पनि आक्रमण पूर्वतयारीसहित गरिएको देखिएको बताएका छन् । उनका अनुसार घटनामा ‘स्पष्ट चरण र स्पष्ट लक्ष्य’ देखिन्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले किशोरका विद्युतीय उपकरणहरू जाँच गर्दा अमेरिकामा भएका विद्यालय गोलीकाण्डसँग सम्बन्धित केही भिडियोसमेत फेला परेको छ ।
परिवारका सदस्यहरूले किशोरलाई शान्त र राम्रो व्यवहार गर्ने व्यक्तिका रूपमा वर्णन गरेका छन् । उनका काकाका अनुसार किशोर धेरैजसो समय घरभित्रै हिंसात्मक भिडियो गेम खेल्दै बिताउँथे र कमै बाहिर निस्कन्थे । परिवारलाई भने उनले यस्तो आक्रमणको तयारी गरिरहेको कुनै संकेत थिएन ।
थाइल्यान्डमा बढ्दो बन्दुक नियन्त्रणको बहस
१८८५ मा बैंककमा स्थापना भएको देब्सिरिन विद्यालय थाइल्यान्डका प्रतिष्ठित माध्यमिक विद्यालयमध्ये एक हो । यसका पूर्वविद्यार्थीमा कूटनीतिज्ञ, खेलाडी तथा केही पूर्वप्रधानमन्त्रीसमेत छन् ।
विद्यालयमा भएको गोलीकाण्डपछि थाइल्यान्डमा नागरिकको हातमा रहेका बन्दुकको नियमन र कानुन कार्यान्वयनको विषय पुनस् बहसमा आएको छ ।
प्रधानमन्त्री अनुतिनले घटनापछि सार्वजनिक स्थानमा बन्दुक बोक्न थप कडाइ गर्ने कानुन ल्याउने प्रतिबद्धता जनाएका छन् ।

