‘गोरुङ्गे ब्यारेकमा तालिमै नगरी जागिर लगाइदिन्छु’ भन्दै साढे २ लाख लिएर चिसापानीबाट यसरी भागे

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा पक्राउ परेका कञ्चनपुरका हरिश चन्द लामो समयदेखि ठगी धन्दामा सक्रिय रहेको पाइएको छ। बेलौरी नगरपालिका–८, कलकत्ता स्थायी घर भएका चन्दले आफूलाई नेपाली सेनाको कर्मचारीका रूपमा चिनाउँदै सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्दै आएको पाइएको कैलाली प्रहरीले जनाएको छ।

Nast Ad

बिहीबार इलाका प्रहरी कार्यालय चिसापानीकी इन्चार्ज प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको टोलीले चन्दलाई पक्राउ गरेको हो। पछिल्लो पटक उनी दैलेखका दुर्गेश थापालाई नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार चन्दले थापाका भिनाजुमार्फत सम्पर्क गरी नेपाली सेनामा तालिमसमेत नगरी सित्तैमा जागिर लगाइदिने प्रलोभन देखाएका थिए। त्यसपछि उनलाई कोहलपुरबाट कैलाली ल्याएर चिसापानीस्थित गोरुङ्गे ब्यारेकमा तालिम नगरी जागिर लगाइदिने आश्वासन दिएका थिए।

थापासँगै चिसापानीस्थित एक होटलमा बसेका चन्द केही समयपछि एकाएक सम्पर्कविहीन भएका थिए। त्यसपछि आफू ठगीमा परेको थाहा पाएपछि थापाले इलाका प्रहरी कार्यालय चिसापानीमा घटनाबारे जानकारी गराएका थिए।

त्यसपछि धनगढीमा आएर बसेका चन्दलाई साथीभाइमार्फत फकाएर चिसापानी बोलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चन्दले थापालाई मात्र नभई कैलालीको घोडाघोडीकी सुनिता चौधरीलाई समेत नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको खुलेको छ।

घोडाघोडीमा चिया–नास्ता पसल सञ्चालन गर्दै आएकी चौधरीको उमेर २४ वर्ष पुगिसकेको र नेपाली सेनामा जागिर खान उमेरका कारण नमिल्ने भए पनि चन्दले आफूले मिलाएर जागिर लगाइदिने भन्दै उनीबाट साढे दुई लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

धनगढीस्थित मालपोत कार्यालयनजिकै चौधरी र चन्दबीच नगद लेनदेन भएको थियो। चौधरी गत ११ असारमा चन्दको ठगीमा परेको प्रहरीले जनाएको छ। उनको पसलमा चिया पिउन पुगिरहने चन्दले आफूलाई ‘आफ्नै मान्छे’ भन्दै विश्वासमा पारेर चौधरीलाई ठगी गरेको बताइएको छ।

प्रहरीका अनुसार चन्द नेपाली सेना नरहेको खुलेको छ। उनी विगतदेखि नै यस्तै प्रकृतिको ठगीमा संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दबाट ठगीमा परेका अन्य व्यक्तिहरू भए सम्पर्कमा आउन अनुरोध गरेको छ। चन्दविरुद्ध ठगी मुद्दामा अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...