बस्तीमा दुई महिनादेखि चितुवाको त्रास

cp new add
Nisharg hospital

चितवन । भरतपुर महानगरपालिकाका मध्यवर्ती बस्तीमा दुई महिनादेखि चितुवाको त्रास बढेको छ। भरतपुर–५, १५ र १६ का घना बस्तीमा माउ चितुवा दुई बच्चासहित डुल्न थालेपछि स्थानीय त्रसित भएका हुन्।

डिभिजन वन कार्यालयले साउन १२ गते गोपालचोकस्थित बन्द पोल्ट्री फार्मको झाडीमा खोर राखेर एउटा बच्चा चितुवा नियन्त्रणमा लिए पनि माउ र अर्को बच्चा भने अझै नियन्त्रणमा आउन सकेका छैनन्। पछिल्लो समय मोहनपुर, रामबाग र रामपुर क्याम्पस आसपास चितुवा देखिने गरेको स्थानीयले बताएका छन्। शुक्रबार राति मोहनपुर टोलको आश्रम चोकमा स्थानीय सरोज दानीले माउ चितुवा र बच्चा देखेका थिए।

चितुवा नजिकैको झाडी हुँदै अघि बढेपछि स्थानीयमा थप त्रास फैलिएको छ। त्यस क्षेत्रमा घरआँगनमै बालबालिका खेल्ने भएकाले जोखिम बढेको स्थानीयको भनाइ छ। वन कार्यालयले चितुवा नियन्त्रणका लागि तीन स्थानमा खोर राखेको छ। क्यामेरामा चितुवा नदेखिए पनि खोर आसपास माउ र बच्चाको पाइला भेटिएको छ। चितुवाले खोर छल्न थालेपछि खुट्टामा अल्झिने सुरक्षित पासो राख्ने विषयमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)सँग समन्वय भइरहेको वन कार्यालयले जनाएको छ।

वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बच्चा हुर्काउन सुरक्षित स्थान खोज्दै चितुवा बस्ती पसेको हुन सक्ने अनुमान छ। भरतपुरको आँपटारी क्षेत्रमा समेत अर्को चितुवा देखिएपछि नियन्त्रणको चुनौती थपिएको छ।

हालसम्म चितुवाले मानिस वा पशुचौपायामाथि आक्रमण गरेको छैन। तर एउटा कुकुर मारेको वन कार्यालयले जनाएको छ। स्थानीयले सम्भावित दुर्घटना रोक्न चितुवालाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन्।

Nast Ad
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...