
धनगढी । बाजुरा प्रहरीले जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि ड्रोन उडाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

मंगलबार बिहान ११ बजेतिर जिल्लाको बडिमालिका नगरपालिका– ८ मार्तडीस्थित नेपाली सेनाको ‘ईश्वरी बक्स गुल्म थापाथली ब्यारेक’ नजिकै ड्रोन उडाउने युवक पक्राउ परेका हुन्।
जिल्ला प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९ का २९ वर्षीय तिलक श्रेष्ठ पक्राउ परेका हुन्।
नेपाली सेनाले आफ्नो ब्यारेकको निषेधित क्षेत्र कैद गर्ने गरी ड्रोन उडाएको भन्ने गुनासो प्रहरीलाई गरेपछि तत्काल शाहीको नेतृत्वमा खटिएको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
श्रेष्ठको साथमा कागजपत्र समेत नरहेको हुँदा उनको ड्रोन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

