
काठमाडौं । उपचारका क्रममा करिब ५ महिना लामो वैदेशिक बसाइपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको हितलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरेका छन् ।

स्वदेश फर्किएलगत्तै विमानस्थलमा संक्षिप्त कुराकानीमा उनले कांग्रेस कसैको व्यक्तिगत इगोमा नभई जनताको सर्वोपरी हितलाई नै केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ ।’ उनले भने ।
पार्टीभित्रको पुस्तान्तरण र युवाको भूमिकाबारे बोल्दै पूर्वसभापति देउवाले युवा साथीहरू अघि बढ्नुपर्छ भन्ने विचारको समर्थन गरे । तर, युवा अघि बढ्नुको अर्थ पाका र अनुभवी नेताहरू जति सबै खराब हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने उनको भनाइ थियो। उनले अनुभव र युवा जोसको समन्वयबाट नै पार्टी सुदृढ हुने स्पष्ट पारे ।
यसैगरी, पछिल्लो समय सामाजिक सञ्जालको प्रभावबारे टिप्पणी गर्दै देउवाले केवल भ्युज र क्षणिक प्रचारको पछाडि नलाग्न कार्यकर्ताहरूलाई वैचारिक सचेत गराए ।

