
बाजुरा । लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २८ साउन बेलुकीदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो ।
स्थानीय टेकबहादुर थापाले गएराति करिब १२स्१० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा फोन गरेर दिएको जानकारी अनुसार पहिरोका कारण स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको छ । उनले ती दुई घरका दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएको जानकारी समेत गराएको प्रहरीले जनाएको छ ।
त्यसलगत्तै प्रहरी चौकी बडिमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि ताम्सु खोलामा पानीको बहाव बढेका कारण तत्काल घटनास्थल पुग्न सकेको छैन ।
उद्धारका लागि बिहान ४ बजे प्रहरी चौकी बर्जुगाड र अस्थायी प्रहरी वेश क्याम्पबाट समेत थप प्रहरी टोली खटाइएको छ। त्यसैगरी बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमान्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी बडिमालिकाबाट करिब चार किलोमिटर उत्तरमा पर्छ । लगातारको वर्षा र खोलामा बढेको पानीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

