सिटिजन्स बैंकको खुद नाफा २ अर्बमाथि, एक वर्षमै ६३% बढ्यो

cp new add
Nisharg hospital

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२ / ८३ मा वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ रहेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।

Nast Ad

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ( ईपीएस)  पनि ८ रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ । यसले बैंकको आम्दानी क्षमतामा सुधार भएको देखाउँछ । बैंकको कोर क्यापिटल अन्तर्गत टायर १ क्यापिटल एडुक्वेसी रेसियो अघिल्लो वर्षको ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडुक्वेसी रेसियो भने १२.४७ प्रतिशतमा कायम रहेको छ ।

बैंकको नाफा वृद्धिमा नोक्सानी व्यवस्थामा आएको ६९.०५ प्रतिशतको ठूलो गिरावट पनि महत्त्वपूर्ण रहेको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । करिब १ अर्ब ८५ करोड रुपैयाँको इम्पेयरमेन्ट खर्च घट्नुले बैंकको खुद नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिन्छ ।

त्यस्तै, बैंकको निक्षेपको लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशत तथा आधार दर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा आएको छ । यी सूचकमा आएको सुधारले बैंकको फन्डिङ लागत तथा ब्याजदर व्यवस्थापनमा सकारात्मक परिवर्तन भएको देखाउँछ । साथै, खुद फि एण्ड कमिसन आय ६.३३ प्रतिशतले र नेट ट्रेडिङ एण्ड अदर्स अपरेटिङ इन्कम ५१.१२ प्रतिशतले बढेको छ ।

समग्रमा, ६३.०५ प्रतिशतको खुद नाफा वृद्धि, २ अर्बभन्दा रुपैयाँ माथिको नाफा, ईपीएसमा सुधार तथा कोर क्यापिटल बलियो हुनु सिटिजन्स बैंकको आर्थिक वर्ष २०८२/८३ का प्रमुख सकारात्मक पक्ष हुन् । साथै, इम्पेयरमेन्ट खर्च, कस्ट अफ डिपोजिट र बेस रेटमा आएको कमीले बैंकको समग्र वित्तीय प्रदर्शनलाई थप सकारात्मक बनाएको देखिन्छ ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर, नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । जसबाट ३.३७ प्रतिशत लाभांश वितरण गर्न प्रयाप्त हुन्छ ।

खुद नाफा र वितरणयोग्य नाफाबीचको अन्तर मुख्यतः नियामकीय समायोजनका कारण देखिएको हो । यस क्रममा डिफर्ड ट्याक्स एसेस्टस्मा ४३ करोड ३८ लाख रुपैयाँ तथा गैरबैंकिङ सम्पत्ति ( एनबीए ) मा २९ करोड १० लाख रुपैयाँ बराबरको समायोजन भएको छ । साथै, इन्ट्रेस्ट रेसिभएवल, एक्चुरियल लस तथा इन्ट्रेस्ट क्यापिटलाइज्ड रिजर्भ लगायतका अन्य नियामकीय शीर्षकमा समेत आवश्यक समायोजन गरिएको छ ।

यसरी, २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरे पनि नियामकीय समायोजनपछि ५२ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...