चुनावी मौकामा कैलालीमा ‘गुप्ता समूह’ को तस्करी मौलायो, प्रहरीका घुमुवासँग सेटिङ !
तस्कर समूह र प्रहरीका घुमुवाको होटलमा बैठक


२४ कात्तिक, धनगढी । कैलालीमा चुनावको मुखैमा सीमा नाकाबाट हुने चोरी तस्करी मौलाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिदै जादा स्थानीय प्रशासनले जिल्लामा सुरक्षा व्यवस्थामा कडाई गरेको दाबी गरेका बेला भारतबाट हुने तस्करी मौलाएको दाबी गरिएको छ ।

विशेषगरी धनगढी उपमहानगरपालिकाको बंग्रा कटान नाकामा सुरक्षाकर्मीको मिलेमतोमा रातिको समयमा चोरी तस्करी भइरहेको स्थानीय बताउँछन् । बंग्रा कटानमा रहेको सशस्त्र प्रहरीको बिओपी नजिकैबाट व्यापक रुपमा चोरी तस्करी हुँदा समेत सुरक्षा निकाय मौन बस्नुले उनीहरुको मिलेमतो भएको हुनसक्ने आशंका स्थानीयको छ ।
‘राति १० बजेपछि बंग्रा कटान नाकाबाट अटो रिक्सा र ट्रयाक्टरमा धमाधम सामान ओसारपसार गर्ने काम भइरहेको हुन्छ । सुरक्षा निकायलाई फोन गरेर हामीले धेरै पटक सूचना दिइसकेका छौँ तर वास्ता नै गर्दैनन्,’ कटानका एक स्थानीयले प्रेसपत्रसँग भने, ‘तस्करको समूहले सशस्त्र प्रहरीको बिओपी नजिकैबाट निर्वाध रुपले सामान ल्याइरहेका छन् । घुमुवा प्रहरी र सशस्त्रको मिलेमतो तस्करी हुने गरेको छ ।’
कटानमा तस्करको समूहले रातिको समयमा एक जना स्थानीयको कुकुर समेत मारेको थियो । कुकुर धनीले प्रहरी प्रशासनमा गुनासो गरेपनि कुनै सुनवाई भएन । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको तस्करीको चिनी सम्बन्धीत व्यक्तिलाई फर्काएपछि केही समय यो नाकाबाट तस्करी रोकिएको थियो । ‘त्यो बेला जिप्रकाका घुमुवा प्रहरी र तस्करबीच सूचना चुहाएको विषयमा विवाद हुँदा तस्करी रोकिएको थियो,’ प्रहरी स्रोतले प्रेसपत्रसँग भन्यो, ‘तर अहिले फेरी कुरा मिलिसकेकाले तस्करी बढेको हो ।’
स्रोतकाअनुसार धनगढीमा तस्करी गर्न भारतका तीन जना गुप्ताको समूह सक्रिय छ । उक्त समूहले कैलाली प्रहरीका कनिष्टदेखि वरिष्ठ अधिकृतसम्मलाई ठूलो मात्रामा महिनावारी बुझाउने गरेका छन् । केही दिन अघि जिल्ला प्रहरी कार्यालयका एक जना असई (घुमुवा) सहितका प्रहरी कर्मचारी धनगढीको एउटा होटलमा गुप्ता समूहसँग बसेका थिए । ‘त्यो छलफलमा उनीहरुबीच बंग्रा कटान नाकाबाट गुप्ता समूहलाई भारतबाट सामान ल्याउन दिने सहमती भएको थियो । सोही दिनदेखि तस्करी मौलाएको हो,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घुमुवा प्रहरी कर्मचारीकै मिलेमतोमा तस्करी भइरहेको भन्ने गुनासोप्रती गम्भीर ध्यानाकर्षण भएको बताए । ‘प्रहरी कर्मचारीको मिलेमतोमा तस्करी भइरहेको भन्ने कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्तो भेटिएमा छानविन गरेर सम्बन्धीलाई कारवाही गछौँ,’ जोशीले प्रेसपत्रसँग भने, ‘तर नाकाबाट भइरहेको चोरी, तस्करी नियन्त्रण गर्न हामी निगरानी बढाउदै कडाइ गछौँ ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धनबहादुर सिंहले सीमा क्षेत्रमा हुने चोरी, तस्करी नियन्त्रणमा कडाइ गरिएको दाबी गरे । तर सशस्त्र प्रहरीको बीओपी नजिकैबाट रातिको समयमा तस्करी हुने गरेको भन्ने कुरामा सत्यता नभएको उनको भनाई थियो ।
एसपी सिहले कही कतै त्यसरी तस्करी भइरहेको भए गम्भीर रुपमा लिएर नियन्त्रण गर्ने दाबी गरेका छन् । चुनावका बेला सीमा क्षेत्रबाट हातहतियार जस्ता जोखिमपूर्ण र अवैध सामान भित्रिन सक्ने कुरामा चनाखो भएर नियन्त्रण गर्नुपर्ने प्रहरीकै घुमुवा तस्करसँग मिलेमतो गर्न थालेपछि कैलालीमा सुरक्षा चुनौती थपिएको पूर्व सुरक्षाकर्मी बताउँछन् ।
