देउवाको गाउँ जोड्ने सडक वर्षौंदेखि अधुरै, चार किलोमिटर अझै कालोपत्र भएन

cp new add
Nisharg hospital

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडादेखि बडाल हुँदै रेलसम्म पुग्ने सडक निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोलासहित चार गाउँलाई जोड्ने यो सडक अहिले पनि स्थानीयका लागि सहज आवागमनको माध्यम बन्न सकेको छैन।

Nast Ad

२०५४ सालमा उद्घाटन गरिएको सडकको भात्काँडा बजारदेखि अगाडिको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन सकेको छैन। सडक जीर्ण हुँदा वर्षायाममा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोको समस्या स्थानीयले झेल्दै आएका छन्। सडक निर्माणमा पटक–पटक समय थपिए पनि काम पूरा नभएको भन्दै स्थानीयले शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसमक्ष गुनासो गरेका छन्। उनीहरूले निर्माणमा ढिलाइ हुनुका साथै भएका कामसमेत गुणस्तरीय नभएको बताएका छन्।

मन्त्री लम्सालले स्थानीयका गुनासा सुनेपछि सडकको समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताएका छन्। स्थानीय सडकको अवस्थाका कारण आवतजावतमा मात्रै समस्या नभई गाउँबाट बसाइँसराइसमेत बढेको बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव टंकप्रसाद अवस्थीले सडकसहितका आधारभूत पूर्वाधारको अभावले स्थानीय गाउँ छाड्न बाध्य भइरहेको बताएका छन्।

‘वर्षौंदेखि सडक निर्माणको आश्वासन पाए पनि स्थानीयले सहज आवागमनको सुविधा पाउन सकेका छैनौं,’ उनले भने, ‘आधारभूत सुविधाकै कमीले यहाँबाट बसाइँ सर्ने क्रम घटेको छैन।’ स्थानीयले सडक डिभिजन कार्यालयप्रति समेत असन्तुष्टि जनाएका छन्। मन्त्री वा पूर्वप्रधानमन्त्री गाउँ आउने बेला सडकका खाल्डाखुल्डी पुर्ने गरिए पनि अन्य समयमा सडकको नियमित मर्मतसम्भार नहुने उनीहरूको गुनासो छ। चुनावका बेला सडक निर्माणलाई प्राथमिकताका साथ उठाइए पनि व्यवहारमा काम हुन नसकेको स्थानीयको आरोप छ।

सडक डिभिजन कुलपातेका डिभिजन प्रमुख रमेश भट्टराईका अनुसार हाल चार किलोमिटर खण्डको मात्रै ठेक्का लागेको छ। करिब ४० किलोमिटर लामो सडकको २५ किलोमिटर खण्डको डीपीआर तयार भइसकेको छ। उक्त सडक निर्माणका लागि एक अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको उनले बताएका छन्। भात्काँडा–बडाल–रेल सडक निर्माणका लागि एएनके–जोशी–मालिका जेभीले २०७८ सालमा ठेक्का पाएको थियो। २०८० सालभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि काम पूरा हुन सकेन। त्यसपछि २०८२ सालसम्म म्याद थपिए पनि आयोजना अझै अधुरै रहेको स्थानीयको गुनासो छ।

यसैबीच मन्त्री लम्सालले भीमदत्त राजमार्गअन्तर्गत गैरा–हगुल्टे–साहुखर्क क्षेत्रमा कालोपत्र गरेको दुई महिनामै सडक उप्किएको विषयमा समेत चासो देखाएका छन्। उक्त क्षेत्रमा सडकको दीर्घकालीन समाधानका लागि ढलान गर्ने योजना रहेको उनले बताएका छन्।

स्थानीयले भने भात्काँडा–बडाल–रेल सडकलाई राजनीतिक आश्वासनको विषय नभई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने माग गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...