
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।

चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
सरकारले लगानीमैत्री वातावरण बनाउन तथा देशमै रोजगारी सिर्जना गर्न नीतिगत सुधार गरिरहेको भन्दै उनले बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याइएको बताए । कर प्रणालीमा सुधार गर्दै आर्थिक सुधारको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । अर्थमन्त्री वाग्लेले पहिलो वर्ष सुधारको सुरुआत गरिएको र दोस्रो वर्ष अझ व्यापक सुधार अघि बढ्ने बताए । तेस्रो र चौथो वर्षमा सुधारको नतिजा देखिने तथा त्यसपछि जनताले प्रतिफल पाउने उनको दाबी छ ।
आन्तरिक स्रोत महत्वपूर्ण रहेको भन्दै उनले प्रवासी नेपालीको ज्ञान, सीप र पुँजी नेपाललाई आवश्यक रहेको बताए । डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीतिअनुसार धितोपत्र बाँडफाँड तथा निष्काशन नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्याइएको उनले जानकारी दिए ।
‘आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस् आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस्,’ उनले भने ।
सरकारले रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको भन्दै वाग्लेले त्यसमा प्रवासी नेपालीको सीप, ज्ञान र लगानीलाई समेत सहभागी गराउन सकिने बताए ।

