
कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा राति करिब १ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीको सूचना पाएलगत्तै दमकलका पाँच वटा गाडी घटनास्थल पुगेका थिए। प्रहरी तथा विपद् व्यवस्थापन टोलीले पनि तत्काल उद्धार तथा राहत कार्य सुरु गरेका थिए।
दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिए पनि होटलभित्र बाक्लो धुवाँ भरिएकाले माथिल्ला तलामा पुगेर उद्धार गर्न कठिनाइ भएको बताइएको छ। आगो नियन्त्रणमा आएपछि अहिले भवनलाई चिस्याउने तथा सम्भावित रूपमा फसेका मानिसहरूको खोजी गर्ने काम भइरहेको छ।
प्रहरीका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु पुष्टि भएको छ। घटनामा छ जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ। मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।
घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन। प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ भने उद्धार तथा खोजी अभियानलाई प्राथमिकता दिइएको जनाएको छ।
यसअघि पश्चिम बंगालकै बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा पनि आगलागी हुँदा नौ जनाको मृत्यु भएको थियो।

