सुंगुरको मिर्गौलाले मानिसमा २७१ दिन काम गर्‍यो, प्रत्यारोपण क्षेत्रमा नयाँ आशा

cp new add
Nisharg hospital

काठमाडौं । अमेरिकी चिकित्सकहरूले आनुवंशिक रूपमा परिमार्जित सुंगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरी २७१ दिनसम्म सफलतापूर्वक काम गराउन सफल भएका छन्। चिकित्सकहरूका अनुसार यो अहिलेसम्म मानिसमा सुंगुरको मिर्गौला काम गरेको सबैभन्दा लामो अवधि हो।

मास जनरल ब्रिघम अस्पतालको टोलीले ६६ वर्षीय टिम एन्ड्र्युजमा २५ जनवरी २०२५ मा सुंगुरको मिर्गौला प्रत्यारोपण गरेको थियो। मिर्गौलाले तत्कालै काम गर्न थालेपछि उनले लामो समयसम्म डायलाइसिस गराउनुपरेन।

एन्ड्र्युजलाई मानव मिर्गौला प्रत्यारोपणका लागि करिब सात वर्ष कुर्नुपर्ने बताइएको थियो। तर डायलाइसिसमा रहेका बिरामीका लागि त्यति लामो समय पर्खन कठिन हुने भएकाले सुंगुरको मिर्गौला उनका लागि अस्थायी ‘ब्रिज’ बनेको चिकित्सकहरूको भनाइ छ।

२७१ दिनपछि मिर्गौलाले काम गर्न छाडेपछि त्यसलाई निकालिएको थियो। त्यसपछि एन्ड्र्युजले ८२ दिन डायलाइसिस गराए र जनवरी २०२६ मा मानव दाताबाट नयाँ मिर्गौला पाए।

वैज्ञानिकहरूले मानिसको प्रतिरक्षा प्रणालीले अस्वीकार नगर्ने बनाउन सुंगुरको जीनमा विभिन्न परिवर्तन गरेका थिए। यसमा मानिसको प्रतिरक्षा प्रणालीसँग अनुकूल हुने केही मानव जीन थप्नुका साथै संक्रमणको जोखिम घटाउने आनुवंशिक परिवर्तनसमेत गरिएको थियो।

चिकित्सकहरूका अनुसार यो सफलताले मिर्गौला दाताको अभावमा जेनोट्रान्सप्लान्टेसनलाई भविष्यमा बिरामीलाई डायलाइसिसबाट बचाउँदै मानव अंग उपलब्ध नहुन्जेल प्रयोग गर्न सकिने सम्भावना देखाएको छ। तर प्रत्यारोपित अंग अन्ततः किन असफल भयो भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...