
जापान । फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन नेपाली पक्राउ परेका छन्। जापानी सञ्चारमाध्यम जापान टुडेका अनुसार फुकुओका प्रहरीले मंगलबार सञ्जु तामाङ (२८), अस्मिता तामाङ (२५) र प्रवीन लामा (२२) लाई पक्राउ गरेको हो । उनीहरूमाथि २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मीको हत्या गरेको आशंका गरिएको छ।
प्रहरीका अनुसार फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको एक नदीमा गत अगस्टमा राजवंशीको शव फेला परेको थियो। राजवंशी सन् २०२३ को मे महिनातिर विद्यार्थी भिसामा जापान आएको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अगस्ट १८ राति करिब ११ः३० बजेदेखि अगस्ट १९ बिहान १२ः१५ बजेको बीचमा फुकुओकास्थित उनको घरमा राजवंशीको टाउकोमा भाँडाले प्रहार गरी डोरीले घाँटी थिचिएको र त्यसपछि तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसेर डुबेको आशंका गरिएको छ।
पक्राउ परेका सञ्जु तामाङ राजवंशीले डेट गरिरहेका व्यक्तिसँग एउटै घरमा बस्दै आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सञ्जुले राजवंशीमाथि आक्रमण गरी तेस्रो तलाको बाल्कोनीबाट खस्न बाध्य बनाएको आशंका गरिएको छ। अगस्ट १९ बिहान करिब ५ः४५ बजे तेन्जिन क्षेत्रको नाका नदीमा एक यात्रुले पानीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उद्धार गरी बाहिर निकालिएपछि राजवंशीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेकाले उनीहरू दोषी ठहर भइसकेका छैनन्।

