
कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् ।
यसअघि होटल तथा व्यवसाय राति १० बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था रहेकामा होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलको सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो ।
नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन् । होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा यस्ता होटलको संख्या करिब एक सय छ ।
सम्झौतापत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन् ।
राति अबेर धनगढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, हवाई यात्रु र लामो दूरीका यात्रुलाई खाना तथा आवासको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले होटलको सञ्चालन समय थप गरिएको व्यवसायीको भनाइ छ ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष पाण्डेयले राति अबेर धनगढी पुग्ने यात्रु तथा पर्यटकलाई होटलमा सेवा लिन सहज हुने बताए । उनका अनुसार यसले धनगढीमा पर्यटकको बसाइ लम्ब्याउन तथा होटल र पर्यटन व्यवसायलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर, राति १२ बजेसम्म सञ्चालन गर्ने सुविधा स्तरीय होटललाई मात्र दिइएको छ । अन्य होटल तथा व्यापारिक प्रतिष्ठानका लागि यसअघि कायम रहेको राति १० बजेसम्मको समयसीमा यथावत् रहनेछ ।
प्रशासनले थप समय सञ्चालनको अनुमति पाए पनि होटल सञ्चालकलाई सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ । रातिको समयमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ग्राहकको विवरण राख्ने, होटल परिसरको निगरानी गर्ने तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको हो ।

