
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।
गत असोजमा मन्दिरको मुख्य पूजास्थलबाट ५५ हजार ८० रुपैयाँ नगद चोरी भएको घटनामा जिल्ला अदालत डोल्पाबाट जारी पक्राउ पुर्जीका आधारमा २३ वर्षीय प्रख्यात उपाध्याय, ४४ वर्षीय रामप्रसाद उपाध्याय, २९ वर्षीय आशिष उपाध्याय र २७ वर्षीय झलक उपाध्यायलाई असोज ८ गते त्रिपुराकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए।
यसअघि असोज ६ गते सोही वडाका ३७ वर्षीय जयानन्द उपाध्याय पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। योसँगै पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।
चोरी भएको भनिएको ५५ हजार ८० रुपैयाँमध्ये सोमबार साँझ मन्दिरको पश्चिमतर्फको टिमुरको रुखमा ५५ हजार रुपैयाँ फेला परेको थियो। खोजतलासका क्रममा फेला परेको उक्त रकम मन्दिर सुरक्षा पोस्टका इन्चार्ज प्रहरी हबलदार इन्द्रबहादुर जिसीले पुजारी रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए।
त्यसको भोलिपल्ट मंगलबार दिउँसो पुनः मन्दिर परिसरमै करिब ५४ हजार रुपैयाँ फेला परेको थियो। पुजारीले उक्त रकम पनि मन्दिरकै भएको बताएका थिए। दोस्रो पटक फेला परेको रकम प्रहरीले बरामद गरी मुचुल्का उठाएर अनुसन्धान गरिरहेको जनाएको छ।
एउटै चोरी घटनामा हराएको भनिएको रकम दुई फरक स्थानमा फेला परेपछि घटनाबारे थप प्रश्न उठेको छ। प्रहरीले दुवै रकमको मुचुल्का उठाएर अनुत्तरित प्रश्नबारे अनुसन्धान गरिरहेको जनाएको छ।

