कांग्रेस अधिवेशनमा पूर्वमन्त्रीले च्याते कागज , मतदान स्थगित

cp new add
Nisharg hospital

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनुअघि विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेपछि कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा पुगेर नेता भरत थापाको हातबाट नामावलीको कागज च्यातेका थिए। उनले माइक खोसेर ‘यो चुनाव हुँदैन’ भन्दै फाल्नुका साथै निर्वाचनसम्बन्धी फाइलसमेत च्यातेपछि विवाद बढेको निर्वाचन समितिले जनाएको छ। प्रहरीले कँडेललाई सुरक्षा दिँदै सुनवल चौराहसम्म पुर्‍याएको थियो।

शान्ति–सुरक्षाको अवस्था बिग्रन सक्ने भन्दै मतदान स्थगित गरिएको हो। नगर समितिका बाँकी पाँच पदाधिकारीका लागि मात्र मतदान हुन बाँकी थियो। सदस्य पदमा आवश्यक संख्यामा मनोनयन दर्ता भएकाले निर्विरोध चयन भइसकेका थिए। बाँकी पदाधिकारीका लागि बिहीबार साँझ साढे ६ बजे मतदान गर्ने तयारी थियो र ३५६ मतदाता कायम थिए।

कँडेल पक्षले मतदान शुक्रबार सार्नुपर्ने अडान लिएपछि विवाद भएको थियो भने अर्को पक्षले मतदाता आइसकेकाले तोकिएकै समयमा मतदान गर्नुपर्ने अडान राखेको थियो। दुई दिनसम्म सहमति नजुटेपछि दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

सभापतिमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डे प्रतिस्पर्धामा थिए। कार्यकर्ताका अनुसार यमलाल पाण्डे भीमबहादुर थापा (भरत) पक्ष र यज्ञप्रसाद पाण्डे कँडेल पक्षका उम्मेदवार हुन्। सुनवल थापाको गृहक्षेत्र भएकाले संगठनमा थापा पक्ष बलियो हुने आकलनबीच विवाद भएको केही कार्यकर्ताको भनाइ छ। गत प्रतिनिधिसभा निर्वाचनमा थापा र कँडेल दुवैले टिकट पाए पनि थापाको उम्मेदवारी कायम रहँदा कँडेलको उम्मेदवारी रद्द भएको थियो।

निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच समन्वयपछि मतदान प्रक्रिया अघि बढाइने बताएका छन्।

६ पालिकामा अधिवेशन सम्पन्न

नवलपरासीका सात पालिकामध्ये सुनवलबाहेक ६ वटाको अधिवेशन सम्पन्न भएको छ। प्रतापपुरमा केशव अधिकारी १३० मतसहित सभापतिमा निर्वाचित भए। संघर्ष जयसवालले ६८ मत पाए।

पाल्हीनन्दनमा रविन्द्र सहानी ८९ मतसहित निर्वाचित भए। १३६ मत खसेकोमा दिनेशमणि पटेलले ४७ मत पाए।

रामग्राम, बर्दघाट, सुस्ता र सरावलमा सबै पद सर्वसम्मत चयन भएका छन्। सुनवलको मतदान भने विवाद समाधानपछि मात्र अघि बढ्ने भएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...