
काठमाडौँ । विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुङ्कार मधेस’ अभियान घोषणा गरेका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रमबिच शक्तिशाली राजनीतिक सङ्गठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका नेता केशव झाले युवा पुस्तालाई राजनीतितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको जानकारी दिए। राजनीतिलाई खराब खेलका रूपमा चित्रण गर्ने प्रवृत्तिका कारण सक्षम र विद्वान् व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको उनको भनाइ छ।
मधेस केन्द्रित राजनीतिक दलहरूसँग एउटै दल बनाएर अघि बढ्न आफूहरूले राखेको प्रस्ताव उनीहरूले स्वीकार नगरेकाले यो अभियान अघि बढाउनुपरेको उनले प्रस्ट पारे। नेता झाले समाजमा मानिसहरूले राजनीतिलाई फोहोरी खेल भन्न थालेको र कुनै पनि अभिभावकले आफ्ना छोराछोरी राजनीतिमा लागून् भन्ने नचाहेको उल्लेख गरे।
दर्शनशास्त्री वा समाजको सबैभन्दा ज्ञानी व्यक्तिले राजनीति गर्नुपर्छ भन्ने मान्यताविपरित पछाडि पर्नेहरू नेता बनेकाले राजनीति ट्रयाकभन्दा बाहिर गएको उनको दाबी छ। नेतालाई देख्ने बित्तिकै आदरले शिर निहुरिने वातावरण बनाउन राजनीतिलाई शुद्धीकरण गर्दै युवा पुस्तालाई जोड्नु नै अभियानको मुख्य लक्ष्य रहेको उनले बताए।

