
भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्याएको छ ।
गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो । बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्याएको छ ।
बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका बुटवल-११ का वडा सदस्य युवराज रानाले बताए। स्थानीय प्रशासनले यस अघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो।
गए राति सम्म वर्षा भएकोमा आज बिहानदेखि बुटवलमा वर्षा रोकिएको छ।

