
बागलुङ । बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार वर्षाका कारण आइतबार मात्रै ९ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । शनिबार एक जनाको मृत्यु भएको थियो ।
प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा ४ जनाको मृत्यु, १ जना बेपत्ता र निसीखोला गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले ८ घर बगाएको छ ।
तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन्। निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, ८ वर्षीय मुकेश र ३ वर्षीय निशान विक छन् ।
यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो । विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँमा २४ घरमा क्षति पुगेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा ५, म्याग्दे गाउँपालिकामा २, घिरिङ गाउँपालिकामा ६, ऋषिङ गाउँपालिकामा २, बन्दीपुर गाउँपालिकामा ४ र भानु नगरपालिकामा ५ घरमा क्षति पुगेको छ ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ ।

