
काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले बयान लिएको छ । मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिएका हुन् ।
एसएसपी खड्कासँग बयान लिइएको आयोगका सह प्रवक्ता (उपसचिव) श्यामबावु काफ्लेले बताए । उनले भने, ‘उहाँसँग लिखित बयान लिइएको छ ।’
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो ।पूर्वप्रधान न्यायाधीश जबरासँग भेट्न नदिएपछि एसएसपी खड्कालाई बयानका लागि बोलाइयो ।
आइतबार बिहान पक्राउ गरेर प्रहरीले जबरालाई टेकुस्थित अनुसन्धान कार्यालयमा राखेको थियो । जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको थियो ।
त्यसपछि आयोगले अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई बयानमा बोलाएको थियो । घटनाबारे आयोगको अनुसन्धान महाशाखाले आवश्यक अनुसन्धान गरिरहेको छ ।

