
कल २४ न्युज प्रालिले ‘फुटसल टुर्नामेन्ट २०८३ सिजन–२’ आयोजना गर्ने भएको छ। प्रतियोगिता असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
खेलकुदको प्रवद्र्धन, युवा सशक्तीकरण तथा दुर्व्यसनमुक्त समाज निर्माणको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि यस वर्ष सुदूरपश्चिमका खेलप्रेमी युवालाई एउटै मञ्चमा जोड्ने र स्वस्थ जीवनशैलीप्रति सचेत गराउने उद्देश्यसहित प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाइने आयोजकको भनाइ छ।
यसपटक प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुनेछ। सहभागी हुन पुरुष टोलीले ५ हजार रुपैयाँ र महिला टोलीले ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।
पुरुषतर्फ विजेताले ५० हजार ५५ रुपैयाँ र उपविजेताले ३० हजार ५५ रुपैयाँ पुरस्कार पाउनेछन्। महिलातर्फ विजेताले २२ हजार २२२ रुपैयाँ र उपविजेताले ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, पुरुषतर्फ उत्कृष्ट विधागत खेलाडीलाई जनही २ हजार ५०० रुपैयाँ तथा महिलातर्फ उत्कृष्ट विधागत खेलाडीलाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

