


काठमाडौँ । साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा इस्लाम र पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्ड सुनाइएका श्रीलंकाली आप्रवासी कामदारको सजाय उल्ट्याएको छ ।


श्रीलंकाका उपविदेशमन्त्री अरुण हेमचन्द्रले बुधबार फेसबुकमार्फत २७ वर्षीय अनोजन सिवारासाको मृत्युदण्डको फैसला बदर भएको जानकारी दिएका हुन् ।





गत जुनमा हिन्दु तीर्थयात्रीहरूको पछि लाग्दै गएको कुकुरलाई एक मुस्लिम युवकले लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि धार्मिक बहस चर्किएको थियो । त्यसक्रममा एक प्रयोगकर्ताले हिन्दु देवताबारे अपमानजनक टिप्पणी गरेपछि सिवारासाले तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक प्रतिक्रिया दिएका थिए ।

उनले टिप्पणी हटाएर माफी माग्दै भिडियोसमेत सार्वजनिक गरेका थिए । तर टिप्पणीको स्क्रिनसट रोजगारदाता र साउदी अधिकारीसम्म पुगेपछि उनलाई जुलाईमा पक्राउ गरिएको थियो । गत सेप्टेम्बरमा पुनरावेदन अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो ।
यसअघि अल-अहसा फौजदारी अदालतले उनलाई पाँच वर्ष कैद र ३० लाख साउदी रियाल जरिवाना सुनाएको थियो ।
मृत्युदण्डको फैसला उल्टिए पनि उनीमाथि थप कानुनी कारबाही हुने वा उनी कहिलेसम्म हिरासतमा रहने भन्ने स्पष्ट भइसकेको छैन । उनको परिवारले २८ सेप्टेम्बरयता उनीसँग प्रत्यक्ष सम्पर्क गर्न नसकेको बताएका थियो ।






