


काठमाडौँ । बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् ।


प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाह आज बिहानै (कार्यालय समयभित्रै) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।






प्रधानमन्त्री सिंहदरबारमा रहे पनि मन्त्रिपरिषद्को बैठक बस्ने नबस्ने निश्चित नभएको ती सदस्यले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू सिंहदरबारमै हुनुहुन्छ’, सचिवालयका ती सदस्यले भने, ‘क्याबिनेट बस्ने नबस्ने निश्चित छैन । कुनै खबर पनि गरिएको छैन ।’ सामान्यतया मन्त्रिपरिषद् बैठक साताको सोमबार र बिहीबार बस्ने गर्छ , तर यो साता बस्न सकेको छैन ।

बुधबार प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबिच लामिछानेको निवास बुढानीलकण्ठमा सरकारका काम कारबाही र पार्टीका गतिविधिबारे लामो छलफल भएको थियो । त्यसक्रममा निजमती कर्मचारीसम्बन्धी अध्यादेश, प्रहरी आइजीपी दानबहादुर कार्की र खगेन्द्र सुनारमाथि उठेका प्रश्न लगायतमा छलफल भएको थियो ।
उता, प्रहरी महानिरीक्षक कार्कीले भने आजै दिउँसो उच्च प्रहरी अधिकारीलाई हेडक्वार्टर बोलाएका छन् । उनले पीसीसी बैठकका लागि सातै प्रदेशका डीआइजीलाई बोलाएका हुन् ।






