



धनगढी । कैलालीमा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले फैसला कार्यान्वयन गर्ने क्रममा शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा एक वर्ष कैद सजाय तोकिएका डोटीको जोरायल गाउँपालिका–१ का २२ वर्षीय किरण विश्वकर्मा रहेका छन्।
त्यस्तै, चेक अनादर मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकिएका कैलालीको लम्कीचुहा नगरपालिका–४ का नन्दराज जैसी र सोही मुद्दामा एक हजार रुपैयाँ जरिवाना तोकिएका गजेन्द्र शाही पक्राउ परेका छन्।
यसैगरी, बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ५५ हजार रुपैयाँ जरिवाना तोकिएका कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का ३६ वर्षीय सरोज चौधरी पनि पक्राउ परेका छन्।
पक्राउ परेका चारै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








