


बैतडी । बैतडीमा बढ्दो लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण तथा समाधानका उपाय पहिचान गर्ने उद्देश्यले बृहत् संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बैतडी र दशरथचन्द नगरपालिकाको सहकार्यमा जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। जिल्ला समन्वय समिति प्रमुखको प्रमुख आतिथ्यता तथा मञ्चका सभाध्यक्ष रन्जित प्रकाश वडको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।






कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे छलफल गरेका थिए।

कार्यक्रममा विभिन्न विज्ञले लागूऔषध दुर्व्यसनको समस्या र समाधानका उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै, दशरथचन्द नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डीएसपी) बीच विशेष अन्तरक्रिया गरिएको थियो।
छलफलका क्रममा सहभागीहरूले जिल्लामा बढ्दो लागूऔषध दुर्व्यसनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा परिवार र अभिभावकको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए। उनीहरूले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, शैक्षिक संस्था, परिवार र नागरिक समाजबीच समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
समस्याबारे चिन्ता व्यक्त गर्नेमै सीमित नभई व्यावहारिक समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सामूहिक प्रतिबद्धता, सहकार्य र निरन्तर प्रयासबाट मात्रै लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्न सकिने निष्कर्ष निकालिएको छ।






