


काठमाडौँ । कर्णालीकी एक देउडा गायिकाको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा अश्लील भिडिओ सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा करिब ३५ वर्षीय खगेन्द्र न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वर्मा यादवका अनुसार ती युवकलाई काठमाडौँबाट नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि कालिकोट लगिएको छ ।


भाइरल भनिएको उक्त भिडिओ करिब साढे दुई वर्ष पुरानो रहेको र गायिका नाबालिग छँदा रेकर्ड गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक यादवका अनुसार न्यौपानेलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ । “भिडिओ करिब अढाई वर्षपहिले गायिका १७ वर्षकी (नाबालिग) हुँदा खिचिएको खुलेको छ,” प्रहरी निरीक्षक यादवले भने, “हामीले साइबर ब्युरोसँग समेत समन्वय गरेर अनुसन्धान अघि बढाएका छौँ ।”





सामाजिक सञ्जालमा भिडिओ फैलाउने जोकसैलाई कारबाहीको दायरामा ल्याइने उनले चेतावनी दिए । प्रहरी निरीक्षक यादवले अगाडि भने, “सामाजिक सञ्जालमा कसैले टीकाटिप्पणी, कमेन्टमा फोटो सार्वजनिक गर्ने, शेयर गर्ने, तर्साउने वा इनबक्समा भिडिओ माग्ने र पठाउने कार्य गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही हुन्छ । यस्ता गतिविधिमाथि प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।” उनका अनुसार भारत तथा अन्य मुलुकमा बसेर दुष्प्रचार गर्ने केही व्यक्तिलाई समेत पहिचान गरी खबरदारी गरिएको छ ।

यसैबीच, सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पीडित गायिकाले आफू नाबालिग छँदा बालमस्तिष्कको दुरुपयोग गरेर भिडिओ बनाइएको बताएकी छन् ।

“विगत केही दिनयता मेरो गम्भीर बेइज्जत भएर गलत निर्णय लिनसमेत बाध्य हुनुपर्ने खालको भिडिओ प्रचार भइरहेको विषयले म अत्यन्तै चिन्तित र विक्षिप्त छु,” गायिकाले भनेकी छन्, “म नाबालिग हुँदाको अवस्थामा मेरो बालमस्तिष्कको दुरुपयोग गर्दै भिडिओ कलका माध्यमबाट ललाई(फकाई अश्लील भिडिओ बनाई मेरो कलाकारिता र भविष्य समाप्त पार्न खोजिएको हो ।”
आफ्नो चरित्रहत्या गर्ने मुख्य व्यक्ति पक्राउ परिसकेको जानकारी पाएको उल्लेख गर्दै उनले विगतमा आफूबाट पनि कमजोरी भएको स्वीकार गरेकी छन् । “उक्त पुरानो भिडिओ कलमा म आफू पनि चुक्न पुगेको महसुस गर्दै माफीका साथ आत्मआलोचित छु र अब यस्ता षड्यन्त्रविरुद्ध सशक्त रूपमा अघि बढ्नेछु,” उनले भनेकी छन्, “यस कुरालाई बढावा दिई जान(अन्जान रूपमा सामाजिक सञ्जालमा दुष्प्रचार कार्यमा संलग्न रही कानुनी झमेलामा नपर्नुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।”
शेयर र कमेन्ट गर्नेलाई पाँच वर्षसम्म कैद हुनसक्ने
सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा ती गायिकाको भिडिओको स्क्रिनसट कमेन्ट बक्समा राख्ने, इनबक्समा माग्ने तथा चरित्रहत्या गर्ने गतिविधि बढेपछि प्रहरीले त्यस्ता प्रयोगकर्तामाथि निगरानी राखेको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कम्प्युटर वा इन्टरनेटजस्ता विद्युतीय सञ्चारमाध्यममा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा चरित्रहत्या गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । प्रहरीले कसैको इनबक्समा भिडिओ मागेको वा पठाएको भेटिएमा समेत प्रमाणका आधारमा कारबाही हुने स्पष्ट पारेको छ ।






