

संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपालीलाई ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर नेपालको इज्जतमा आँच पुर्याउने जोकोहीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने गरेको, तर त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन नसकिएको भन्दै गुनासो गरेका थिए ।
त्यसक्रममा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी धन्दामा संलग्न नेपालीलाई कानुनी दायरामा ल्याउने विषयमा आफूहरूलाई नैतिक सङ्कट हुने गरेको बताएका थिए । राजनीतिक नेतृत्वबाट कारबाहीका लागि स्पष्ट निर्देशन आए भोलिदेखि नै त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ थियो ।
महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले ‘किन नैतिक सङ्कट ? नेपालीलाई ठगेर नेपालीकै इज्जत फाल्ने जोकोहीलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । मन्त्री गुरुङले नेपालीलाई ठगी गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशनसमेत दिएका थिए ।
विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई आएका गृहमन्त्री गुरुङले आफ्नो औपचारिक भ्रमणका क्रममा यूएईका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेका थिए ।
भ्रमण सम्पन्न गरी मन्त्री गुरुङ स्वदेश फर्किएका छन् ।

