

गोरखाको बाह्रकिलोमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि सदन र सडकमा सहकार्य गर्ने सहमति भएको जानकारी दिए । उनले सहकार्यमा मात्रै सीमित नभई कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटै पार्टी निर्माण गर्ने प्रयास भइरहेको पनि बताए ।
‘नेकपा एमाले, नेकपा मशालहरूसँग हामीले सहकार्य गरेर जाने सहमति भइसकेको छ । सडक र सदनमा मिलेर जाने कुरा भएको छ र आउँदो स्थानीय र प्रदेश चुनावमा मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ प्रचण्डले भने । उनले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता र समाजवादको दिशामा अघि बढ्न सबै कम्युनिस्ट शक्तिहरू एउटै केन्द्रमा आउनुपर्ने बताए ।
एमालेका नेताहरूसँग पनि एकता र सहकार्यबारे छलफल भइरहेको उल्लेख गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहमत गराउन भने सहज नभएको स्वीकार गरे ।
‘अरूसँग पनि छलफल सकारात्मक छ, एमालेका नेताहरूसँग पनि । यद्यपि केपी ओलीजीलाई कुरा बुझाउन सजिलो त भइराखेको छैन,’ उनले भने ।
प्रचण्डले नेपाली कांग्रेस तथा मधेसकेन्द्रित दलहरूसँग पनि संविधान र संघीयताको रक्षाका लागि सहकार्य र मोर्चाबन्दीबारे निरन्तर छलफल भइरहेको जानकारी दिए ।

