

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज थप ५ सय रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ थियो।
यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १४५ रुपैयाँ पुगेको छ।

