

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विपद् जोखिम न्यूनीकरण र उत्थानशील समुदाय निर्माणको सुरुवात घरपरिवारबाटै हुनुपर्ने बताएका छन्। विपद् व्यवस्थापनका लागि ठूला पूर्वाधार र नीतिगत योजनासँगै व्यक्ति, परिवार र समुदायस्तरको सचेतना तथा पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ।
वेदकोट नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको व्यवस्थापकीय साझेदारीमा आयोजित छैटौँ कञ्चनपुर सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्। ‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेश र विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको उल्लेख गरे।
महाकाली, दोदा, बनरा र जोगबुढालगायतका नदीले हरेक वर्ष वर्षायाममा जनजीवन, कृषि तथा पूर्वाधारमा क्षति पुर्याउँदै आएको भन्दै उनले विपद् आउनुअघि नै पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्दै समुदायलाई नै विपद्सँग जुध्न सक्षम बनाउनुपर्ने उनको भनाइ थियो। संघीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले सुरक्षित र उत्थानशील समुदाय निर्माणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री भट्टले बताए। कञ्चनपुरका स्थानीय तहले विपद् व्यवस्थापनका लागि थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको उनको भनाइ छ।
विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै उनले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताए। विकास निर्माणका कामलाई वातावरणमैत्री र विपद् प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

