

बैतडीको सिगास गाउँपालिका–६ का मोहन रोकायाका छोरा मिलन धनगढी चौराहमा तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका हुन्। चार दिनअघि भएको दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको छ। घटनापछि बेहोस भएका मिलनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ‘दुर्घटनापछि बेहोस भएका उनको अहिलेसम्म होस आएको छैन,’ मिलनकी काकी कल्पना खडायतले भनिन्।
मिलन हिमाल एकेडेमीमा नर्सरीमा अध्ययनरत थिए। उनी धनगढीमा काकी कल्पनासँग डेरामा बस्दै आएका थिए। उनकी आमा हमेन्ती पनि लामो समयदेखि बिरामी छिन्। मिलनको उपचारमा ठूलो रकम खर्च भइसकेको र थप उपचारका लागि आर्थिक अभाव भएको अर्की काकी लालमती रोकायाले बताइन्।
मिलनलाई सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। आइसियू र औषधिमा मात्रै दैनिक २५ हजार रुपैयाँ खर्च भइरहेको परिवारले जनाएको छ। ‘आइसियूमा राखेर उपचार भइरहेको छ, दिनको २५ हजार रुपैयाँ आइसियू र औषधिमा मात्रै खर्च भइरहेको छ। अस्पतालले थप खर्च लाग्ने जनाएको छ,’ लालमतीले भनिन्, ‘उपचारलाई निरन्तरता दिन सहयोगका लागि सबैसँग अपिल गर्दछु।’
परिवारका अनुसार अस्पतालले पनि उपचारमा केही सहयोग गर्ने आश्वासन दिएको छ। तर उपचारमा थप रकम आवश्यक पर्ने भएकाले परिवारले मिलनको जीवन रक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको छ।


