रास्वपालाई ‘झोले युग’बाट बाहिर निकाल्यौँ : रवि लामिछाने

cp new add
Nisharg hospital
Dhangadhi
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई ‘झोले युग’बाट बाहिर निकालेर ‘फाइलको युग’मा प्रवेश गराएको बताएका छन् ।

शनिबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अब पार्टीका कार्यक्रम, अधिवेशन तथा महाधिवेशनमा झोलाको सट्टा फाइल वा डायरी प्रयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

राजनीतिक दलमा आबद्ध व्यक्तिलाई व्यंग्य गर्दै ‘झोले’ भन्ने प्रवृत्ति लामो समयदेखि रहेको उल्लेख गर्दै लामिछानेले रास्वपाका नेता–कार्यकर्तालाई पनि पछिल्लो समय ‘खराने’ र ‘घण्टे’ भन्न थालिएको बताए ।

‘जो मानिस कुनै राजनीतिक दलमा लाग्यो, त्यसलाई सम्बन्धित पार्टीको झोले भनेर आलोचना गर्ने चलन वर्षौंदेखि चल्दै आएको थियो,’ उनले भने, ‘कम्तीमा झोलेबाट त हामी बाहिर निस्केका छौँ, झोलेभन्दा पनि नमिठो शब्द आयो फेरि– खराने, घण्टे ।’

उनले फाइल वा डायरीमा जनताका मुद्दा र गुनासा समेटिनुपर्ने बताए । फाइल किन्न नसक्ने कार्यकर्तालाई आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई झोले युगबाट बाहिर निकाल्ने सोचेको छु,’ लामिछानेले भने ।

अब पार्टीका कार्यक्रममा सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै उनले झोलाको सट्टा फाइल प्रयोग गर्ने अभियान सुरु गरिएको बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...