
२७ साउन, धनगढी । २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा जेल सजाय भोगिरहेका निलम्बीत सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिने लगायतका विषयमा छलफल भएको छ ।

सरकारका गृहमन्त्रीसहित तीन मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच गत वर्षको जेठमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको ६ बुँदे सहमती कार्यान्वयनका विषयमा शुक्रबार छलफल भएको हो ।

सिंहदरबारमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र थारु कल्याणकारिणी सभाका पदाधिकारीको सहभागीता रहेको थियो ।

छलफलमा कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी थिए ।
छलफलमा थारु कल्याणकारिणी सभा र सरकारबीच भएको ६ बुँदे सहमतिबारे कुराकानी भएको थियो । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने, थरुहट-थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको थियो ।
