
धनगढी । सुदूरपश्चिममा आर्थिक रूपमा सक्रिय जनसंख्या ७० दशमलव ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार उत्पादन र सेवामूलक क्षेत्रमा काम गरी आयआर्जन गर्नेको जनसंख्या प्रदेशभित्र २१ लाख ८० हजार २ सय ३० जना रहेको छ। कार्यालयले आइतबार ‘राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनहरू’ सार्वजनिक गर्दै ३० प्रतिशत मानिस अझै पनि आर्थिक रूपमा निष्क्रिय रहेको जानकारी दिएको छ। कार्यालयका अनुसार केही गर्दै नगर्ने बूढाबूढी, केटाकेटी र विद्यार्थी आर्थिक रूपले निष्क्रिय हुन्।
घरभित्रको काम गर्ने बालबालिकादेखि बूढाबूढीको हेरचाह गर्ने, खाना बनाउनेदेखि सरसफाइ गर्नेसम्मका काममा संलग्नलाई आर्थिक रूपमा सक्रिय जनसंख्यामा गणना नगरिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकृत डाक्टर हेमराज रेग्मीले बताए। ‘ उत्पादन र सेवामूलक काममा कारोबार भएको पाइन्छ।
अहिले पनि घरभित्रको कामलाई आर्थिक रूपमा सक्रिय जनसंख्याका रूपमा गणना गरिएको छैन,’ रेग्मीले भने, ‘आफ्नो र परिवारका लागि गरेको काम यसमा जोडिँदैन।’ आर्थिक क्रियाकलापहरूलाई कसरी वर्गीकरण गर्ने भन्ने विषय ‘सिस्टम अफ नेसनल अकाउन्ट’ले तय गरेको हुन्छ। यसअनुसार कुनै पनि वस्तुको उत्पादनमा संलग्न भयो भने त्यसलाई काम भनिन्छ। सेवाको हकमा भने संलग्न हुँदैमा काम हुँदैन।
सेवामा कारोबार भएको हुनुपर्छ। भाँडा माझ्न, बालबालिकाको हेरचाहबापत पैसा लियो भने त्यो काम भयो। लिएन भने काम भएन। सेवाको हकमा भने कारोबार भएको हुनुपर्छ। धान, बिस्कुट, साबुनजस्ता वस्तुको हकमा उत्पादनमा संलग्न हुने प्रक्रियालाई काम मानिएको छ। आर्थिक रूपमा सक्रिय जनसंख्यामा पुरूषकै संख्या धेरै रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
सुदूरपश्चिममा आर्थिक रूपमा सक्रिय पुरूषको संख्या ७२ दशमलव ३ प्रतिशत हुँदा महिला संख्या ६८ दशमलव ८ प्रतिशत छ। कार्यालयले हिमाल, पहाड, तराई र प्रदेशगत रूपमा आर्थिक रूपमा सक्रिय जनसंख्याको अवस्था पनि सार्वजनिक गरेको छ।प्रतिवेदनअनुसार शहरी जनसंख्याभन्दा ग्रामीण गाउँपालिकामा रहेको जनसंख्या आर्थिक रूपमा सक्रिय रहेको देखिएको छ। यो वर्गीकरणभित्र पनि आर्थिक रूपमा सक्रिय महिलाको संख्या कम छ।
तराई क्षेत्रका मानिसमा आर्थिक रूपमा सक्रियता कम देखिएको छ। हिमाली भेगका मानिसमा आर्थिक रूपमा सक्रियता बढी देखिएको छ। प्रदेशमा भने कर्णालीका मानिस आर्थिक रूपमा बढी सक्रिय छन्। मधेश प्रदेशमा यस्तो जनसंख्या सबैभन्दा कम छ। त्यसपछि आर्थिक रूपमा सक्रिय जनसंख्या कम रहेको प्रदेशमा बागमती पर्छ। बागमतीका ६४ दशमलव ८ प्रतिशत मानिस आर्थिक रूपमा सक्रिय छन्। कोशी, कर्णाली र सुदूरपश्चिमका मानिसहरू अन्य प्रदेशको तुलनामा बढी सक्रिय देखिएका छन्।

