


कर्णाली । कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च क्षेत्रमा हिमपात र वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।


डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ, हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाका विभिन्न क्षेत्र तथा कालीकोटको तिलागुफामा हिमपात भइरहेको छ।






हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गत हिल्सा, लिमी र लाप्चा जाने बाटो बन्द भएको छ। जोखिमलाई मध्यनजर गर्दै माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि पदयात्रीलाई आवागमनमा रोक लगाइएको छ।

मुगुमा निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको छ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै सम्बन्धित जिल्ला प्रशासनले सुरक्षा निकाय, स्वास्थ्यकर्मी, रेडक्रसलगायत सरोकारवाला निकायलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखेका छन्।






