१ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेको छ ।
आयोगले व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व भएको जनाएको छ ।
‘यसप्रकारका अधिकारहरुमा कुनै पनि वहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः संविधान र कानुनमै टेकेर यसप्रकारको गतिरोधको अन्त्य गर्न आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’
महाअभियोग प्रस्तावमाथि सिफारिस समितिले दिएको प्रतिवेदनमाथि निर्णय नगरी आइतबार प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । त्यसपछि जबराले आफू पुनः अदालत फर्किने बताएका थिए । त्यसपछि सरकारले उनको निवासमा सुरक्षा कडाइ गरेको थियो ।