
बोगटान फुड्सिल गाउँपालिका–४ स्थित जोराघाट माध्यमिक विद्यालयका शिक्षक भागिराम चौधरीले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।
उनले प्रहरी, गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा दिएको उजुरीमा स्थानीय गणेश भुल, गोविन्द बिनाडी र नरबहादुर थापाले धम्की दिएको उल्लेख गरेका छन्। उनीहरूले खुकुरी तथा काठको मुडा लिएर भौतिक आक्रमण गर्न आएको चौधरीको आरोप छ। भौतिक आक्रमणको डरले चौधरी अहिले आफ्नो घर बर्दिया पुगेका छन्। उनी २०८० पुसदेखि उक्त विद्यालयमा कार्यरत छन्।
विद्यालयका प्रधानाध्यापक लोकराज बिनाडीले राजीनामा दिएपछि सहायक प्रधानाध्यापकसमेत रहेका चौधरी प्रधानाध्यापक बन्न सक्ने विषयलाई लिएर विवाद भएको उनको भनाइ छ। गाउँपालिकाले भने शिक्षक देवबहादुर कुँवरलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको छ।
गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले घटनाबारे दुवै पक्षलाई बोलाएर छलफल गरिने बताएका छन्। शिक्षा शाखा प्रमुख चेतराज बिनाडीले शिक्षकको सुरक्षा गर्नु पालिकाको दायित्व रहेको भन्दै घटनाप्रति आपत्ति जनाएका छन्।
चौधरीले आफू असुरक्षित रहेकाले विद्यालय फर्किन नसकेको बताउँदै सुरक्षाको माग गरेका छन्। साथै, आफूमाथि आक्रमणको प्रयास गर्नेहरूमाथि कारबाही गर्न माग गरेका छन्।

