३१ लाखको मुद्दा दुई चार लाखमा मिलाउन सुदूरपश्चिमका मन्त्री सोडारी पत्नीको प्रस्ताव

panchodaye

६ असोज, धनगढी । नेकपा एकीकृत समाजवादी कैलालीका उपसचिव दीर्घराज जोशी पत्नी अनिताको ३१ लाखको चेक अनादर मुद्दामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी पत्नी गीता सोडारीको नाम पनि जोडिएको छ ।

Nast college

जिल्ला अदालत कैलालीले पीडित मायादेवी विष्टलाई प्रतिवादी अनिताले तिर्नुपर्ने बिगो नतिरेको अवस्थामा एक वर्ष कैद सजाय हुने फैसला सुनाइसकेका बेला मन्त्री  सोडारी पत्नी गीताले मिलाउन भूमिका खेलेको आरोप लगाइएको छ ।

Nisharg hospital

‘दीर्घ मन्त्री ज्यूको श्रीमती गीताले मेरो पसलमा आएर मलाई अनिताले त्यति ठूलो रकम तिर्न सक्दैन् । २÷४ लाख तिरेर कुरा मिलाऔँ भन्नुभएको थियो,’ विष्टले भनिन्, ‘उहाँले कसैलाई जेल हालेर तिमीलाई फाइदा हुदैन् । अहिलेको कुरा मात्र हेरेर मात्र हुदैन पछिसम्म सोच्नुपर्छ । भोलि समस्या पर्न सक्छ भनेर मलाई नजानिदो किसिमले धम्क्याउनुभयो ।’

विष्टले अनिताका श्रीमान मन्त्री सोडारीका विश्वास पात्र भएको सुनेकाले उनीहरुले नै संरक्षण दिएर प्रतिवादीलाई लुकाएको आरोप लगाएकी छन् । सरोकार नै नभएको ‘उहाँको यो केसमा कुनै स्वार्थ छैन भने मलाई खोज्दै मेरो पसलमा आएर यसरी मिलाऔँ उसरी मिलाऔँ भनेर भन्छ त ?,’ उनले भनिन्, ‘मन्त्रीकै आडमा उनीहरुले नै अनितालाई लुकाएर राखेको छ ।’

सोडारी पत्नी गीताले पनि विष्टलाई २÷४ लाखको कुरा भए मिलाउन सकिने र मुद्दा÷मामिलाको झन्जटमा नपर्न आग्रह गरेको स्वीकार गरेकी छन् तर त्यसमा व्यक्तिगत स्वार्थ नभएको दाबी उनको छ । ‘अनिता जोशी घरमा छैन । त्यो बहिनीसँगको कारोबारको मुद्दा थियो भन्ने कुरा थाहा पाएपछि के रहेछ त भनेर बुझ्न गएकी थिए,’ सोडारीले भनिन्, ‘२÷४ लाखको कुरा हो भने दुवै पक्ष मिल्दा राम्रो हुने भनेकै हुँ । अरु मेरो कुनै स्वार्थ छैन ।’

मायादेवी विष्टकाअनुसार उपसचिव जोशीकी श्रीमती अनिताले एक महिनामा फिर्ता गर्ने शर्तमा २०७५ सालमा ३१ लाख रुपैयाँ सापटी लिएकी थिइन् । अनिताले आफ्ना नाममा रहेको धनगढीको ज्याति विकास बैँकको दुई वटा चेक दिएकी थिइन् ।

जोशीले विष्टको नाममा २०७५ साउन १० मा भुक्तानी हुनेगरी २९ लाख सात हजारको एउटा र २०७५ भदौ २८ मा भुक्तानी हुनेगरी दुई लाखको चेक दिएकी थिइन् । तर चेक नसाटिएपछि विष्टले अदालतमा चेक अनादरको मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दाको फैसला गर्दै अदालतले वार्षिक १० प्रतिशत ब्याज समेत गरेर सावा रकम वादी पक्षलाई तिर्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार अनिताले १५ लाख रुपैयाँ पर्ने जग्गा विष्टको नाममा नामसारी गरिदिएपनि अझै २८ लाख नतिरेको भन्दै विष्टले गत बैशाखमा पुनः निजलाई सजाय गराइ पाउ भनेर निवेदन दिएकी थिइन् । उनको निवेदनमाथि सुनवाई गर्दै बाँकी बिगो रकम नतिरेमा जोशीलाई एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।

उनको नाममा पक्राउ पुर्जी जारी भएपनि विगत तीन महिनादेखि फरार छिन् । खोजीमा प्रहरीले असहयोग गरेको पीडितको गुनासो छ भने प्रहरीले खोजी भइरहेको जनाएको छ ।

यी समाचार पढ्नुस्

नेकपा (एस) कैलालीका उपसचिव पत्नीको मुद्दा : १५ लाखको जग्गा नामसारी, बाँकी २८ लाख नतिर्दा कैद

नेकपा (एस) कैलालीका उपसचिव जोशीकी श्रीमतीविरुद्ध ३१ लाखको चेक अनादर मुद्दा

 

 

 

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...