२० असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणमा सरकारी वकिल कार्यालयले दोषीलाई बचाउन गर्न भूमिका खेलेको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेन क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नारायण डाँगीले अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिती नियन्त्रणमा लिइएको बताए ।
‘उहाँहरुले सम्मानीत अदालत र सरकारी वकिल कार्यालय घेराउ गर्न खोजेपछि तनाव सिर्जना भएको हो,’ डाँगीले भने, ‘हामीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास र हवाई फायर गरेका छौँ तर विस्तृत विवरण आउन बाँकी छ ।’ सो क्रममा प्रर्दशनकारी र प्रहरीबीच दोहोरो झडप १४ जना प्रहरीसहित केही स्थानीय घाइते भएको उनको भनाई छ ।
पीडित पक्षले सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा अदालतसम्म नपुयाउन दबाब दिएकाले हत्या आरोपीहरुलाई जोगाउने खेल सरकारी वकिल हुँदै महान्यायधिवक्ताको कार्यालयसम्म पुगेको दाबी गरेको छ । पीडित पक्षले घटनाको मुख्य योजनाकार बनाएकी पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसँग सरकारी वकिलले साँठगाँठ गरेको आरोप समेत लगाएको छ तर सरकारी वकिल ढुङ्गानाले यी सबै आरोपको खण्डन गर्दै गलत भएको दाबी गरेका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।
उनको हत्या गरेको आरोपमा मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएकोमा प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले मिसिल अध्ययनको क्रममा रहेको जनाएको छ ।