

विराटनगर । मोरङ कटरी गाउँपालिका-१ जमरटोकीका करण कामतको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केटी जिस्क्याएको निहुँमा दुई समूहबीच झगडा हुँदा कामतको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोमबार राति दुई समूहबीच झडप हुँदा करणको मृत्यु साथै अरु २ जना घाइते भएका थिए । घाइते विराटनगर २ स्थित नेपाल टेलिकम अगाडि भेटिएका थिए ।
घाइते भएकाहरू कटहरी-१ जमोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।कुटपिटमा संलग्न अर्को समूहका ४ जनालाई प्रहरी पक्राउ गरेको छ । एकजना नाबालक छन् ।
घटनामा संलग्न रहेको आरोपमा विराटनगरका सोनु गिरी, भोजपुरका सञ्जय पुरी र ताप्लेजुङका दावा शेर्पालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।आइतबार मृतक करणको समूहले युवतीलाई जिस्काएको भन्दै दुई समूहबीच भनाभनबाट झगडा सुरू भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानबहादुर बस्नेतले भने,‘केटी जिस्क्याएको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति हुन पुगेको पाइयो ।’
दोहोरो हानाहान हुँदा पीडक पक्षका शेर्पाले साथमा बोकेको कैँची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको पाइएको बस्नेतले बताए ।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
‘घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ,’ उनले भने, ‘विभिन्न पाटोबाट विस्तृतमा अनुसन्धान भइरहेको छ ।’

