धनगढीमा कात्तिक १३ देखि रामलिला ज्ञान महोत्सव सञ्चालन हुने

Nisharg hospital

८ असोज, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अगामी कात्तिक १३ देखि रामलिला ज्ञान महोत्सव सञ्चालन हुने भएको छ । रामलिला आयोजक समिति (संगम सोसाईटी) को आयोजनामा धनगढी उपमहानगरपालिका–३ को पिंकी प्यालेसमा रामलिला ज्ञान महोत्सव सञ्चालन हुने भएको हो ।

रामलिला आयोजक समिति (संगम सोसाईटी) ले शनिबार पत्रकार सम्मेलनमार्फत रामलिलाबारे जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष मानसिंह बिष्टले दैनिक बेलुका साढे ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिने रामलिला महोत्सवको माध्यमबाट भगवान श्री रामको जीवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको बताए ।

‘भगवान श्रीरामचन्द्रबाट पाएको ज्ञान तथा प्रेरणा व्यक्ति र समाजलाई दिन सकियोस् । जिवन के हो ? सत्चरित्र के हो ? बल, ज्ञान, के हो ? समाजलाई हामीले के दिनुपर्ने रहेछ ? शान्ति अमनचयन समाजको निर्माण कसरी गर्ने ? आदीको उत्तर रामको जिवनीबाट प्राप्त गर्न सकिन्छ,’ बिष्टले भने, ‘भगवान श्रीरामको जिवनीबाट व्यक्ति र समाजलाई प्रेरणा दिने उद्देश्यले रामलिला ज्ञान महोत्सवको आयोजना गर्न गइरहेका छौँ ।’

रामलिला महोत्सवले समाजमा देखा परेको शान्ति, मर्यादा, अनुशासनबारेको बिचलन न्यूनीकरण गर्न सघाउने विश्वास बिष्टको छ । रामलिला आयोजक समितिका सचिव मनमोहन बिष्टले महोत्सव अवधीभर करीब एक लाख भन्दा बढि दर्शक तथा भक्तजनले सहभागीता जनाउने अनुमान गरिएको बताए । उनकाअनुसार हालसम्म तीन दर्जन बढि रामलिला सञ्चालन गरिसकेका गुरु शिवदत्त पन्तको नेतृत्वमा महोत्सव चल्नेछ ।

महोत्सव सञ्चालनका लागि ३३ सदस्यीय आयोजक समिति, २७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ भने सनातन धर्मगुरुसहित ५५ जना कलाकार सहभागी हुने महोत्सवमा एक सय २५ जना जनशक्ति परिचालन गरिने सचिव बिष्टले बताए । आयोजक समितिका कोषाध्यक्ष नन्दराज भट्टकाअनुसार रामलिला महोत्सव सञ्चालन गर्न १२ लाख ६३ हजार बराबरको खर्च लाग्ने अनुमान गरिएको छ भने सोहीअनुसारको रकम संकलन हुने विश्वास गरिएको छ ।

भट्टले विभिन्न आयोजक संघसंस्थाहरुबाट ५० हजार, प्रायोजकबाट साढे ३ लाख, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था एवंम् सामाजिक व्यक्तिबाट ७ लाख, आरतीबाट एक लाख र पुरस्कार एवंम् अन्यबाट ६३ हजार आम्दानी हुने अनुमान गरिएको जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...