

१० असोज, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२, बडियामा पहिरो खस्दा एक घर बगेको हो । प्रहरीका अनुसार स्थानीय देबसिंह महराको घर बगेको हो । यस्तै गोठमा रहेका गाई र बाख्रा पुरिएका छन् । पहिरो खस्दा घर परिवारले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियाका अनुसार असोज ८ गते शनिबारदेखि १० गते सोमबारसम्म तीन दिन सुदूरपश्चिमको कञ्चनपुर, बैतडी र दार्चुलामा भारी वर्षा हुने भएकाले सजकता अपनाउन सूचना जारी गरेको छ ।

शनिबार रातिदेखि लगातारको वर्षाले सेती नदीमा पानीको बहाव बढेको हो । बैतडीको सिगास गाउँपालिका –५, ढुङ्गाढ क्षेत्रका १०३ घरपरिवारमा बाढीको त्रास बढेको छ । सेती नदीमा पानीको बहाव बढ्दा ढुङ्गाढका १०३ घर परिवार बर्सेनि सेतीको भँगालोमा फस्ने गरेका छन् ।
ढुङ्गाढमा गत वर्ष कात्र्तिको पहिलो साता आएको बाढीले १० घरमा क्षति गर्नुकासाथै सात सय रोपनी खेतीयोग्य जमिन र सेतीको झोलुङ्गे पुल बगाएको थियो । बाढी पीडितले अहिलेसम्म राहत नपाएको बाढी पीडित लोकबहादुर चन्दले बताए ।
नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीयको चिन्ता बढेको छ । बर्सेनि आउने बाढीले ढुङ्गाढ क्षेत्रको सात सय रोपनी खेत बगाइसकेको स्थानीयले बताएका छन् ।
बैतडीमा भारी वर्षा भइरहेकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थानमा प्रहरी युनिट मार्फत सतर्कता अपनाउन निर्देशन दिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।