कैलालीका कुख्यात सिंह : हत्यामा जन्मकैद, अन्य मुद्दामा पनि दाेषी

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलाली जिल्ला कारागारबाट कैद भुक्तान गरिरहेकाे अवस्थामा भागेका देवसिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई १२ वर्षपछि पक्राउ गरिएको छ ।

गाेदावरी नगरपालिका-११ ओलानीका सिंहलाई कैलाली प्रहरीले भारतबाट पक्राउ गरेकाे हाे ।

उनी २२ साउन २०६९ मा कैलाली कागारबाट भागेका थिए । सिंहले २४ फागुन २०६४ मा गोदावरी नगरपालिका- ७ बस्ने भक्तबहादुर भन्ने बमबहादुर साउदलाई गोली प्रहार गरी हत्या गरेका थिए ।

उनलाई जिल्ला अदालतले २७ मंसिर २०६७ मा ११ असार २०६६ देखि लागु हुने गरी सर्वस्वसहित जन्मकैदकाे फैसला सुनाएको थियाे ।

साेही क्रममा उनी कैद भुक्तान गरिरहेको अवस्थामा कैलाली जिल्ला कारागारबाट फरार भएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए ।

उनकाअनुसार सिंहमाथि साविककाे गोदावरी गा.वि.स-६ बस्ने तेज बहादुर बडैला र मोहन सिंह बडैला समेत मिलेर २ असाेज २०६२ मा हत्या गरेकाे मुद्दा दर्ता भएकाे थियो ।

तर उक्त मुद्दाको मिसिल जिल्ला सरकारी वकिलकाे कार्यालयबाट मिसिल फिर्ता भएर पेश हुन बाँकी रहेकाे छ ।

यस्तै सिंहमाथि धनगढी-१ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले  अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धककाे  मुद्दा समेत लागेको छ ।

उनले हातहतियार खरखजना मुद्दामा पनि एक वर्ष कैद भाेगिसकेका छन् । सिंहलाई खोजतलास गर्दै जादा नेपाल भारत सिमाना स्थित  कन्चनपुरकाे भिमदत्त नगरपालिका-१० गड्डाचौकी क्षेत्रबाट गोप्य सूचनाको आधारमा प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको ५ जनाको प्रहरी टोलीले आज बिहान ५ बजे पक्राउ गरेकाे थियाे ।

कैलाली कारागारबाट भागेपछि भारतमा लुकेका सिंहले उता पनि लुटपाट तथा चाेरीका काण्ड गरेकाे सुरक्षा स्रोत बताउँछ ।

कैलाली प्रहरीले भारतीय प्रहरीसँगकाे समन्वयमै उनलाई पक्राउ गरेकाे हाे ।

हेर्नुहाेस् सिंहबारेकाे विस्तृत प्रहरीकाे विज्ञप्ति

*** सर्वस्व सहित जन्म कैद मुद्दामा जेलबाट फरार प्रतिवादी १२ बर्ष पछि पक्राउ ***
जि.प्र.का. कैलाली माघ ३० गते,
जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं.०७ बस्ने जनक बहादुर साउदको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह भएको जाहेरवालाको भतिजा भक्त बहादुर भन्ने बम बहादुर साउदलाई मिति २०६४।११।२४ गते रातीको समयमा गोली प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा वारदात मितिबाट भागी फरार रहेका देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह मिति २०६६।०३।१० गते प्र.नि. धन बहादुर कठायतको जाहेरीले वादी नेपाल सरकार भएको हातहतियार खरखजना मुद्दामा पक्राउ परे पश्चात सो मुद्दामा निजलाई कारागार चलान गरी १ बर्ष कैद सजाय भुक्तान गरिरहेकै अवस्थामा जनक बहादुर साउदको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह भएको कर्तव्य ज्यान मुद्दामा समेत निजलाई सम्मानित कैलाली जिल्ला अदालतबाट मिति २०६७।०८।२७ गतेको फैसलाले मिति २०६६।०३।११ गते देखी लागु हुने गरी सर्वस्व सहित जन्म कैद सजाय भई सो सजाय भुक्तान गरिरहेको अवस्थामा मिति २०६९।०४।२२ गते कैलाली कारागारबाट भागि फारार रहेका जिल्ला कैलाली साविक गोदावरी गा.वि.स. ०५ हाल गोदावरी नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४८ को देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई खोजतलास गर्दै जादा नेपाल भारत सिमाना स्थित जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा न. १० गड्डाचौकीको एरीयामा रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्द समेतको ५ जनाको प्रहरी टोलिले आज मिति २०८१।१०।३० गते अन्दाजी ०५:०० बजेको समयमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई राखिएको ।
देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह उपर दायर भएका मुद्दाहरुः-
१. जिल्ला कैलाली गोदावरी गा.वि.स. ०६ बस्ने कृत सुनारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह, तेज बहादुर बडैला र मोहन सिंह बडैला भएको वारदात मिति २०६२।०६।०२ गते जाहेरवालाको छोरा मान बहादुर सुनारलाई कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दा- आ.व.२०६२।०६३ साल, मुद्दा नं. ३० (जि.स.व.का. बाट मिसिल फिर्ता भई पेश हुन बांकी)
२. जिल्ला कैलाली गोदावरी ७ बस्ने जनक बहादुर साउँदको जाहेरीले वादी नेपाल सरकार भएको वारदात मिति २०६४।११।२४ गते राती जाहेर वालाको भतिजा मृतक भक्त बहादुर भन्ने बम बहादुर साउदलाई गोली प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई मिति २०६७।०८।२७ गतेको फैसलाले मिति २०६६।०३।११ गते देखी लागु हुने गरी सर्वस्व सहित जन्मकैद फैसला भई कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कैलालीबाट फरार । (आ.व. २०६४।०६५ साल, मुद्दा नं. १८२) ।
३. जिल्ला कैलाली धनगढी १ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले मिति २०६५।०३।१० गते, अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धक मुद्दा- आ.व.२०६५/०६६ साल मुद्दा नं. ३५०
४. प्र.नि. धन बहादुर कठायतको जाहेरीले मिति २०६६।०३।१० गते हातहतियार खरखजनामा पक्राउ परी मिति २०६६।०४।०५ गते अनुसन्धान पश्चात कारागार चलान भएकोमा १ बर्ष कैद सजाय फैसला । (आ.व.२०६५/०६६ साल मुद्दा नं. ३४९)
५. मिति २०६९।०४।२२ गते निज प्रतिबादी देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह कैलाली कारागारबाट भागी फरार भएको कैदी भागे भगाएको मुद्दामा देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह, प्र.ना.नि. लोक बहादुर बोहरा, प्र.ह. गणेश चन्द र प्र.ज. दिल बहादुर टमटा उपर मुद्दा दायर भई सम्मानित कैलाली जिल्ला अदालतमा मुल्तबीमा रहेको ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...