


धनगढी । भारतमा आकर्षक जागिर र उच्च तलबको प्रलोभन देखाएर नेपाली युवालाई नेटवर्किङ व्यवसायमा संलग्न गराई ठगी गर्ने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु नेपालका विभिन्न ९ जिल्लाका व्यक्ति भएको खुलेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रहरी कञ्चनपुरको संयुक्त टोलीले भारतीय दुतावासको सहयोगमा उनीहरुलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।
पक्राउ पर्नेमा गुल्मीको घुकौटका २७ वर्षीय विक्रम परियार, २३ वर्षीय प्रभास विक,सप्तरीको शम्भुनाथका २३ वर्षीय रामबालक मण्डल, काभ्रेपलाञ्चोकको पनौतीका २४ वर्षीय सुमन घिमिरे, २५ वर्षीय रित भुजेल, ३४ वर्षीय दीपेश तामाङ सिङतान रहेका छन् ।
यस्तै, अर्घाखाँचीकाको सन्धीखर्कका २५ वर्षीय पंकज विश्वकर्मा, ओखलढुङ्गाकाको खिजिदेम्बाका २५ वर्षीय धिरज सुनुवार, पर्वतको ब्यादीका २४ वर्षीय दिनेश काफ्ले, मकवानपुरको मनहरीका २४ वर्षीय प्रकाश अर्याल, पाल्पाको रिब्दीकोटका २४ वर्षीय सुरज गोतामे र रुपन्देहीको सिद्धार्थनगरका २८ वर्षीय सागर विकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाकाअनुसार कैलालीको गौरीगंगा नगरपालिका–२ का २२ वर्षीय चक्रबहादुर साउदसहितका व्यक्तिहरूले विभिन्न युवालाई भारतको उत्तर प्रदेशस्थित ‘विन्सपायर वल्र्ड कम्पनी’ (ध्ष्लकउष्चभ ध्यचमि ऋयmउबलथ) मा रोजगारी लगाइदिने भन्दै प्रलोभनमा पारेको सूचनाका आधारमा अप्रेसन गरिएको थियो ।
उनका अनुसार गिरोहले युवाहरूलाई भारत पु¥याएर सात दिनसम्म विभिन्न तालिम र प्रशिक्षणका नाममा मानसिक तथा भावनात्मक रूपमा प्रभावित बनाउने, कम्पनीको होस्टेलमा राख्ने, परिवारसँग सम्पर्क गर्न नदिने तथा मोबाइल नियन्त्रणमा लिएर निगरानी गर्ने गरेको खुलेको छ । मोबाइल प्रयोग गरेको भेटिए धम्कीसमेत दिने गरिएको आरोप उनीहरुमाथि छ ।
अनुसन्धानका क्रममा उक्त कम्पनीमा सामान्य कामका लागि प्रतिव्यक्ति भारतीय रुपैयाँ १० हजार असुल्ने गरिएको र पछि क्रमशः ‘क्लास’ तथा ‘नेटवर्क विस्तार’को काममा संलग्न गराइने गरेको पाइएको प्रहरीले जनाएको छ ।
गिरोहले नयाँ व्यक्तिलाई कम्पनीमा भर्ना गराए प्रतिमहिना ३५ देखि ४० हजार भारतीय रुपैयाँ तलब पाइने तथा थप सदस्य भित्र्याए प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म आम्दानी हुने भन्दै प्रलोभन दिने गरेको उजुरीमा उल्लेख छ । साथै प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ जम्मा गरे ठूलो आम्दानी हुने आश्वासनसमेत दिइएको थियो ।
पीडितहरूले आफूहरूलाई ठगी तथा मानसिक दबाबमा राखिएको भन्दै गत जेठ २२ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । उजुरीपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वयमा भारतीय प्रहरी, भारतस्थित नेपाली दूतावास, भारतीय दूतावास तथा ‘किन इन्डिया’ संस्थाको सहयोगमा भारतको देहरादुनमा रहेका पीडितहरूको उद्धार गरिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरू नेपाल प्रवेश गर्न खोजिरहेका बेला महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट असार २५ गते साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको कैलालीका प्रमुुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले जानकारी दिए । उनकाअनुसार ठगी अन्तरगत मुद्दा दर्ता गरेर अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । ठगीमा संलग्न केही व्यक्ति फरार रहेकाले उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

