भारतमा नेपालीलाई ठगी गर्ने नेपालकै गिराेहका १२ जना सुदूरपश्चिम प्रहरीकाे फन्दामा, कस्ताे हाेला कारवाही ?

cp new add
Nisharg hospital
suchana
Nast new

आकर्षक वैदेशिक रोजगारी र उच्च आम्दानीको सपना देखाएर नेपाली युवाहरूलाई भारत पुर्‍याई नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको संयुक्त टोलीले नेपाल–भारत सीमा नाका गड्डाचौकीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरू भारतबाट नेपालतर्फ भाग्ने क्रममा जेठ २५ गते साँझ सीमा नाकामा पक्राउ परेका हुन्।

कैलालीको गौरीगंगा नगरपालिका–७ का २२ वर्षीय चक्रबहादुर साउदसहित आठ जना पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुख्य अभियुक्त प्रकाश अर्यालसहितको समूहले भारतको उत्तर प्रदेशस्थित ‘Winspire World Company’ मा आकर्षक तलबसहितको जागिर लगाइदिने आश्वासन दिएर नेपाली युवाहरूलाई भारत पुर्‍याउने गरेको थियो। त्यहाँ पुगेपछि उनीहरूलाई सात दिनसम्म विभिन्न प्रशिक्षणका नाममा राखी मानसिक दबाब सिर्जना गरिन्थ्यो। साथै मोबाइल नियन्त्रणमा लिएर परिवारसँग सम्पर्क गर्न नदिने र विरोध गरे धम्की दिने गरिएको पीडितहरूको बयानमा उल्लेख छ।

अनुसन्धानबाट उक्त कम्पनीले सुरुमा प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँ प्रवेश शुल्क लिने गरेको र त्यसपछि थप ‘स्तर’ उक्लिनुपर्ने भन्दै दुई लाख भारतीय रुपैयाँसम्म जम्मा गर्न लगाउने गरेको खुलेको छ।

पीडितहरूलाई मासिक ३५ देखि ४० हजार भारतीय रुपैयाँ तलब, नयाँ सदस्य भित्र्याएबापत प्रतिव्यक्ति २४ हजार ९१० रुपैयाँ कमिसन तथा केही वर्षमै लाखौँ रुपैयाँ आम्दानी हुने प्रलोभन देखाइन्थ्यो। कम्पनीभित्र विभिन्न पद सिर्जना गरी पदोन्नति हुँदै गए ठूलो आम्दानी हुने भ्रम फैलाइन्थ्यो।

घटनासम्बन्धी अनुसन्धानका क्रममा भारतको देहरादुनमा रहेका पीडित विशाल खत्रीलाई सकुशल उद्धार गरिएको छ। उद्धार कार्यमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वय, नेपाली राजदूतावासका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको टोली, भारतीय प्रहरी, भारतीय दूतावास तथा ‘Kin India’ संस्थाले सहयोग गरेका थिए।

प्रहरीले सप्तरीका विक्रम परियार, गुल्मीका रामबालक मण्डल र प्रभास बिक, काभ्रेपलाञ्चोकका सुमन घिमिरे, पंकज विश्वकर्मा र दीपेश तामाङ सिङतान, ओखलढुंगाका रित भुजेल, पर्वतका धिरज सुनुवार, मकवानपुरका दिनेश काफ्ले, अर्घाखाँचीका प्रकाश अर्याल, पाल्पाका सुरज गोतामे तथा रुपन्देहीका सागर बिकलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनीहरूले जागिर लगाउने भन्दै प्रलोभन देखाएर भारतमा लगेर ठग्ने र बन्धक बनाई असुली गर्ने समेत गरेका थिए।

अहिले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको सुदुरपस्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले बताए। पछिल्लो समय नेपाल प्रहरीले भारतमा समेत विभिन्न अपरेसन गर्दै अपराधी नियन्त्रणमा लिने क्रम बढाएको छ। रानाले वैदेशिक रोजगारी तथा आकर्षक आम्दानीको प्रलोभनमा पारेर सञ्चालन गरिने यस्ता नेटवर्किङ ठगीविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुने बताउँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...