

धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बरबहादुर विश्वकर्माले व्यवसायिक आचारणमा रहेर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । हालै सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुख भएर आएका विश्वकर्माले पेशागत मर्यादाभित्र रहेर उच्च नैतिकवान व्यवहारसहित प्रहरीको व्यवसायिक आचरणअनुसार काम गर्न निर्देशन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयहरुको अनुगमन निरीक्षणका क्रममा विश्वकर्माले सीमा नाकामा हुने चोरी तस्करी तथा अपराधिक गतिविधी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सोही अनुरुप काम गर्न समेत भनेका छन् । ‘पहिलो कुरा तपाई हामीले किन प्रहरी भए ? हाम्रो पेशागत दायित्व र व्यवसायिकता के हो ? भन्ने कुरा थाहा पाउनुुपर्यो,’ डीआईजी विश्वकर्माले भने, ‘प्रहरीले आफ्नो व्यवसायिकताअनुसार काम गर्नुपर्छ । आफ्नो इलाकाका समस्या पहिचान गरेर न्यूनीकरणमा जोड दिनुहोस् ।’

उनले आम नागरिकसँगको सम्बन्ध सुमधुर बनाएर समुदाय प्रहरी साझेदारी मोडालिटीमा काम गर्न समेत निर्देशन दिएका छन् भने चोरी तस्करी र लागुऔषध दुव्र्यशनी प्रमुख समस्याका रुपमा देखिएकाले न्यूनीकरणमा विशेष जोड दिनुुपर्ने बताएका छन् ।
‘अहिले चोरी तस्करी र लागुऔषध दुव्र्यशन भयावह रुपमा बढ्दै गइरहको छ । प्रहरीले यी समस्या पहिचान गरेर कतै पनि चुक्नुु हुँदैन् । लागुऔषधविरुद्धको अभियानमा शिक्षक, विद्यार्थी र अभिभावकसँग जोडिएर काम गर्नुहोस्,’ उनले भने, ‘हामीले आम जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।’ विश्वकर्माले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र लापरवाही गर्ने प्रहरी कर्मचारीलाई आवश्यकताअनुसार कारवाहीको दायरामा ल्याइने समेत उल्लेख गरेका छन् ।

उनले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले लागुु गरेका नीति अनुुरुप काम गर्ने प्रहरीको कर्तव्य भएकाले सोहीअनुसार अघि बढ्नुुपर्ने समेत बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षण गरेका डीआईजी विश्वकर्माले बैतडी, दार्चुला र बझाङ बाहेकका सबै जिल्लाको निरीक्षण सम्पन्न गरिसकेका छन् ।

