
काठमाडौँ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ ।
तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध सुरु र अन्त्य हुने समय फरक हुन्छ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु गरी औँसीसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ । यो वर्ष आश्विन ११ गते आइतबारबाट सुरु भई आश्विन २४ गते शनिबार सकिनेछ ।
सङ्ग्रह ग्रन्थमा भनिएको छ – पिता, पितामह, माता, पितामही, प्रपितामही, सौते माता, मातामह, प्रमातामह, वृद्धप्रमातामही, पत्नी एवं पुत्र, पिताकी सौते आमा, आफ्ना दाजुभाइ र तिनका पत्नीहरू, पिता एवं माताका दिदीबहिनीहरू, आफ्ना दिदीबहिनी, तिनका पति र छोराछोरीहरू, आफ्ना गुरु एवं शिष्य, आप्त पितृहरू यी सबै माहालयश्राद्ध, तीर्थश्राद्ध र तर्पणविधिमा पितृदेवता मानिएका छन् ।
हामीले आमा बुबाको स्वर्गारोहण भएको तिथिमा गरिने एकोदृष्ट श्राद्धमा दिएको अन्न तथा जल बर्सभरि नै पितृहरूले प्राप्त गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ । सोह्र श्राद्धको समयमा आफ्ना आफ्ना पितृहरू घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेको छ । एउटा शास्त्रीय भनाई के रहेको छ भने गएको कुसे औँसीबाट नै पितृहरू घर वरपर आएर मेरा छोराहरूले तर्पण दिन्छन् दिँदैनन्, जल दिन्छन् दिँदैनन्, पिण्ड दिन्छन् दिँदैनन् भनेर बसिरहेका हुन्छन् ।
सोह्रश्राद्धमा कस्तो भोजन ग्रहण गर्ने
यो समयमा जो मांसाहारी हुनुहुन्छ ती व्यक्तिहरु शाकाहारी हुनु पर्दछ । जसका माता पिता हुनुहुन्न उनीहरूले शुद्ध सात्त्विक भोजन गर्नुपर्दछ र तामसी भोजनहरू ग्रहण गर्नु हुँदैन ।
पितृको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एक छाक रोटी ग्रहण गर्नपर्दछ । अगाडी नै हात गोडाका नङ काट्ने, दिन प्रतिदिन स्नान गर्नुपर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवङ्गत भए पनि त्यही तिथिमा नै श्राद्ध गरिन्छ ।
कसको श्राद्ध कुन तिथिमा गर्ने
जसको कुमार अवस्थामा दिवङ्गत भएको हुन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमी तिथिमा गरिने श्राद्धले उनीहरूको आत्माले शान्ति पाउँछ ।
आश्विन कृष्ण पक्षको नवमीलाई मातृ नवमी भनिन्छ । स्त्री जातीको वा आमाको श्राद्ध गर्नुपरे मातृ नवमीलाई राम्रो मानिन्छ । मातृ नवमीको दिने तर्पण, जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पूर्ण स्त्रीहरूको उद्धार हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
परिवारका पूर्वज तथा बुबाहरूले संन्यास दिनुभएको भए एकादशी तथा द्वादशी तिथिमा श्राद्ध गर्नुपर्दछ ।
जसको रुखबाट लडेर, फलाम आदीको प्रहारबाट, चट्याङ्गमा परेर, पानीमा डुबेर, आगोमा परेर, विष सेवन गरेर, जङ्गली जनावरको आक्रमणबाट, दुर्घटनामा परेर र अस्त्र शस्त्रबाट मृत्यु भएको छ भने चतुर्दशीमा श्राद्ध गर्नुपर्दछ ।
आफ्ना पितृहरूको तिथि थाहा छैन भने औँसी तिथिमा श्राद्ध गर्दा सम्पूर्ण पितृहरू प्रसन्न हुन्छन् ।
श्राद्ध गर्दा कस्ता नियम पालन गर्नुपर्दछ ?
श्राद्ध गर्दा विभिन्न नियमहरूको पालना गर्नु पर्नेहुन्छ । श्राद्धको दिन दाँत माझ्दा ब्रस तथा मलमको प्रयोग नगरी कुनै वृक्ष वा दतिउनबाट दाँत माझ्नु पर्दछ । श्राद्धभन्दा अगाडी पान लगायत यस्तै बस्तुहरूको ग्रहण गर्नु हुँदैन । श्राद्ध नसकिईकन शरीरमा तेल नलगाउनु, श्राद्धको दिन अरूको अन्न नखानु नै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरू हुन् ।
भगवान् रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुष्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भएको थियो । ऋषि मुनिहरूलाई बोलाएर फलफूलहरू ग्रहण गराउनु भएको थियो । त्यतिखेर फलफूल वितरण गर्दै गर्दा घरभित्र सिता आइन र रामले किन भित्र आएको भन्दा सिताजीले जबाफ दिइन् मैले हाम्रा पूर्वजहरूको अनुहार ब्रमाणहरुको शरीरमा देखि भनेर भनेकी थिइन् ।
कस्ता अन्न प्रयोग नगर्ने ?
महालय श्राद्धमा प्रसाद, पिण्ड आदिका निमित्त पाकेको अन्नको प्रयोग गर्नुपर्दछ । अन्नमा किरा परेको छ, अन्नहरूमा कुकुर तथा कुखुराहरूले दृष्टि दिएको भने ती अन्नहरू प्रयोग नगर्नु भनिएको छ । श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुबिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लसुन चलाउन हुँदैन । यी चिजहरू गन्दप्र्रदान भएको हुनाले पितृहरू रुष्ट हुन्छन् ।
कस्ता रङका फूलहरू प्रयोग गर्ने ?
पहेँलो सेतो फूलहरू चढाउनू पर्दछ । चन्दन चलाउँदा पहेँलो चलाउनु पर्दछ । पहेँलो तथा सेतो चन्दन सत्वगुणको प्रतीक हो । रातो चन्दन चढाउनू हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतीक हो ।
पिण्ड कत्रो दिने
पिण्ड कत्रो दिने भन्ने प्रश्न पनि उव्जिन्छ । एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो, वार्षिक श्राद्ध जो स्वर्गारोहण भएको एक वर्षमा गरिन्छ त्यस समयमा नरिवलको भित्रको दाना जत्रो, मासिक श्राद्धमा पनि नरिवलको दाना जत्रो नै दिनु पर्दछ । तीर्थ श्राद्धमा कुखुराको अण्डा जत्रो, पावण श्राद्धमा अमलाको ठुलो दाना जत्रो दिनुपर्दछ । पिण्ड भनेको ब्रह्माण्ड हो आफ्ना पितृहरूलाई हे हजुर मैले तपाईँलाई देखेको छैन, मैले हजुरलाई घिउ, चिनी दूध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरूलाई सम्झनु पर्दछ ।
औँसीको दिन पितृहरू फर्कने दिन भएकोले औँसीको दिन साँझमा दियो बालिदिने, पितृहरूको फोटो राख्ने, खिर बनाएर चडाईदिने र भन्ने हजुरहरूको यात्राको लागि मैले बत्ती बालेको छु भोजन बनाएको छु । श्राद्ध गरिसकेको भए पनि पितृहरूलाई सम्झनाले आर्सीवाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छन् पितृहरूले हर्छन त्यसैले आफ्ना पितृहरूलाई खुसी पार्नुपर्दछ ।
घरमा, तीर्थमा, बिष्णुपादुकामा, गोकर्णमा, कोटिहोममा, पशुपति क्षेत्रमा, बद्रीमा जहाँ गएर पनि पितृहरूको श्रद्धा भक्ति गरेर अनन्य आशीर्वाद हामीले लिनु पर्दछ । सोह्रश्राद पछि तुरुन्तै दुर्गा पक्ष, विजय दशमी तथा शुभ दिवपालि आउँछ तर पहिलो पितृहरूको आशीर्वाद लिनु पर्दछ अनि देवताहरूको पूजा गर्नुपर्दछ ।
कारणवस श्राद्ध गर्न सकिएन भने कहिले गर्ने ?
व्यक्तिगत जीवनमा संकट परेको बेलामा वा देशमा संकट परेको बेला कुनै पनि तिथिमा गर्ने श्राद्ध गर्न सकिएन भने अन्य बेलामा श्राद्ध गर्न सकिने कुरा शास्त्रमा बताईएको छ ।
सोह्रश्राद्धमा श्राद्ध नगरिए हेमाद्रिमा उद्धृत गोणकालसम्बन्धी यमको वचन यसप्रकार रहेको छ –सूर्य कन्याराशीमा जाँदा गृहस्थ मानिसले अश्विनीकृष्ण पञ्चमीको बीचमा शाकार्पण गरेर भए पनि श्राद्ध गर्नुपर्दछ । ती दुवै पक्षमा पनि श्राद्ध गर्न सम्भव भएन भने के गर्ने ? भन्ने प्रश्नमा उत्तर दिँदै भविश्यपुराणमा भनिएको छ – महालय श्राद्ध नगरिएमा गृहस्थले दीपावलीले यूक्त कार्तिक महिनाको आमावास्यमा पिण्ड दान गर्नुपर्दछ । यसमा पनि कुनै कारणवश श्राद्ध गर्न नसकिए महाभारतको भनाई छ –जबसम्म सूर्य कन्या, तुला र वृश्चिक राशिमा रहन्छन् अर्थात आश्विन महिना, कार्तिक महिना र मङ्सिर महिनामा त्यसबेला यमपुर शून्य रहन्छ । जबसम्म सूर्य धनु राशिमा जाँदैनन् अर्थात पौष महिना नलाग्दै पितृहरू सन्तानले दिने श्राद्धको आशाले पृथ्वीतर्फ आउने हुँदा यमपुर रित्तो रहन्छ भन्ने तात्पर्य रहेको छ । त्यसकारण वृश्चिक राशिमा अर्थात मङ्सिर भित्र नै श्राद्ध गर्नुपर्दछ ।
ब्रहपुराणमा भनिएको छ – सत्पुत्रले महालय श्राद्ध गरेपछि पुत्र, आयु, आरोग्य, अतुल, ऐश्वर्य र सबै मनोरथ प्राप्त हुन्छ । सूर्य बृश्चिकराशिबाट धनुराशिमा गएपछि पितृहरू देवताहरुका साथ तातो सास लिँदै श्राद्ध नगर्ने आफ्ना सन्तानलाई कठोर सराप दिएर फर्किन्छन् ।
जातुकण्र्य भन्दछन्–आषाढ पूर्णिमाको पाँचौँ पक्षमा अर्थात आश्विन कृष्णपक्षमा पितृहरूले अन्न र तर्पणको इच्छा गर्दछन् त्यसकारण त्यसै पक्षमा पिण्ड र तर्पण दिनुपर्दछ । अरु समयमा दिएका व्यर्थ हुन्छ ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।

