
२५ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । शाहीको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालयले पेश गरेका स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

श्रेस्तदार पौडेलले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको बताउँदै अन्य फरार रहेकाहरुको खोजी गरेर पेश गर्न प्रहरीलाई आदेश गरिएको जनाए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए । २१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरु प्रहरी कार्यालयबाटै छुटिसकेका छन् ।

पीडितका परिवारले किटानी जाहेरी दिएका मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको हो । तर सरकारी वकिल कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
